काठमाडौं – भोली बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘महाभोज’को विशेष प्रिभ्यु प्रदर्शन मङ्गलवार साँझ काठमाडौंमा सम्पन्न भयो । सिनेमा रिलिजको अघिल्लो दिन आयोजित यो विशेष शोमा पत्रकार, सिने युनिट र देशभरका सहकारी पीडितहरूबाट चयन गरिएका ६० जना प्रतिनिधिहरूको सहभागिता थियो ।
प्रदर्शन अवधिभर हलमा सघन भावनात्मक माहौल देखिएको थियो । सहकारी पीडितहरूले सिनेमाले उनीहरूकै जीवनको यथार्थ प्रतिबिम्ब झल्काएको अनुभव सुनाउँदै यसको विषयवस्तुले आफूहरूलाई न्यायका लागि अझ सशक्त र प्रेरित बनाएको बताए । सिनेमा प्रदर्शनपछि उनीहरूले सञ्चारकर्मीहरूसामु नाराबाजीसहित उत्साह व्यक्त गर्दै भने, “राज्यले नसुनेको पीडितको आवाज ‘महाभोज’ले पर्दाबाट बोलेको छ ।
यसैबीच, देशभरका प्रमुख मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन हलहरूले ‘महाभोज’ को अग्रिम बुकिङ खुला गरिसकेका छन् । वितरकहरूका अनुसार यो सिनेमा करिब २ सय शो सहित नेपालभर प्रदर्शन हुँदैछ ।
दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय रहेको ‘महाभोज’ सहकारी संस्था सम्बन्धी एउटा गम्भीर सामाजिक विषयमा आधारित छ ।
सिनेमाले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने अवस्थालाई मर्मस्पर्शी ढङ्गले चित्रण गरेको छ । पीडितहरूको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष र राजनीतिक चलखेल सिनेमाको मूल कथा भन्छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यो सिनेमाले नेपालसँगै विदेशका केही मुलुकहरूमा समेत एकसाथ प्रदर्शनको तयारी गरेको छ ।















