काठमाडौं : आगामी जेठ १५ गते रिलिज हुने ‘महाभोज’को गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक समारोहकाबीच गीत सार्वजनिक गरिएको हो, जहाँ सिनेमा युनिटका सदस्यहरू र पत्रकारहरूको बाक्लो उपस्थिति थियो ।
चर्चित निर्देशक तथा अभिनेता समेत रहेका निश्चल बस्नेत र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको ‘लालुमै’ गीतमा हर्क साउदको शब्द, कोसिस क्षेत्री र केतन क्षेत्रीको सङ्गीत, पुष्कर खत्रीको एरेञ्ज र केतन क्षेत्रीकै रेकर्ड प्रोडक्सन रहेको छ । यसको भिडियोमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, र स्वयं गायक निश्चल बस्नेतको आकर्षक नृत्य देख्न सकिन्छ । कोरियोग्राफर सुनिल क्षेत्रीले गीतलाई रमाइलो र आकर्षक शैलीमा सजाएका छन् । गीतमा मोडल कमल सिंहले मलिका महतसँग बिहे गर्दै गरेको भूमिकामा विशेष उपस्थिति जनाएका छन् ।
गीतको भिडियो मलिकाको बिहे समारोहको परिवेशमा आधारित छ, जहाँ परिवार, साथीभाइ र गाउँलेको रमाइलो माहौल झल्किएको छ ।
सिनेमा ‘महाभोज’ क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको हो । ‘महाभोज’ एकै दिन नेपालसहित विभिन्न देशहरूमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ । यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणी नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ । सिनेमाका निर्माता हिमाल कडरिया हुन् भने कथा तथा पटकथा सुवेदीले तयार पारेका हुन् ।















