काठमाडौं : महेश त्रिपाठी अभिनित २ सिनेमा ‘लाज सरणम्’ र ‘फेरि रेशम फिलिली’ एक साथ रिलिज हुँदै आजबाट दोस्रो हप्तामा सिनेमाघरहरुमा चलिरहेको छ । दुई सिनेमा एक साथ रिलिज भएको मात्र होईन एक साथ छायांकन पनि भएको थियो । यस्तोमा उनले दिनमा एउटा र रातमा अर्को सिनेमाको छायांकनलाई समय दिदै काम सके । र महत्वपुर्ण कुरा त दुबै सिनेमाका दुई पात्र ‘पुष्पा’ र ‘सन्देश’लाई न्याय दिनमा उनी खरो उत्रिएका छन् ।
अहिले उनको खुब चर्चा छ । तर दुखद पक्ष दुबै सिनेमाका मेकरले उनको काम र मेहनतलाई बाहिर ल्याउन चासो देखाएनन । उनले शरीरमा ल्याएको परिवर्तन मात्र नभएर पात्रलाइ जिवित बनाएर जिएको त्यो पनि एक साथ दुई सिनेमाका दुई पात्रको बारे मेकर जानकार त थिए । तर यस्तो क्षमता र मेहनतलाई बाहिर ल्याउनु भन्दा लिड भनिएका कलाकारहरुका एकै प्रकारका पट्यारलाग्दा कुरा मिडियामा पटक पटक दोहोरिए ।
सिनेमा ‘प्रेम गीत ३’को समय मनिष राउतको खुब चर्चा भयो उनको लुक्स देखि काम सम्मले वाहवाही पायो । तर त्यस पछि सिनेमाका प्रीमियरको समयमा बाहेक उनको सिनेमामा उपस्थिती शून्य जस्तै छ । त्यसो त उनी आफै सिनेमा बनाउछु भनेर पनि लागेका थिए । तर बनाउने खबर फैलाउनु र बनाउनु फरक कुरा देखियो । सिनेमा बनेन । अहिले भने उनी ‘जनै हराएको बाहुन’मा देखिने खबर छ ।
अरुण क्षेत्रीकै कुरा गर्दा पनि उनको अभिनयले मुख्य कलाकारलाई नै छायाँमा पार्यो । यसको असर उनको छायांकन गरिएको लामै रोल पनि काटियो । “हिरो” छायाँमा पर्ने अझ भन्दा हिरो लाई हिरो बनाउने मेकर मोहले उनलाइ पनि नेपाली सिने जगतमा टिक्नै हम्मे हम्मे परिरहेको थियो । सिङ्गो सिनेमा हाक्न सक्ने क्षमता हुँदा हुँदै पनि उनलाई यो सब गर्नु जरुरी थिएन । अहिले उनै अरुणको लिड क्यारेक्टर रहेको सिनेमा ‘हन्टर’ आउँदै छ ।
अरुण सङ्गै चर्चामा आएकी अन्जना बराईलीका सिनेमाले ह्याट्रीक गरिसके । उनको अभिनयको तारिफ पनि हुन्छ । तर खै किन उनको चर्चा हुन पर्ने जति छैन् । अभिनय राम्रो छ सिनेमाले ब्यवसाय पनि राम्रो गरेको छ ।
प्राय जसो कलाकार जो अभिनयमा अब्बल छन । सानो भन्दा सानो रोल हुँदा पनि सिनेमामा उनीहरुकै चर्चा छ । जस्तो कि “लाज सरणम्”मा महेशको श्रीमती बनेकी रेणुको पनि उत्तिकै चर्चा छ । दर्शकले उनै साना तिना रोलमा अभिनय गरेका कलाकारलाई “ओ हो क्या गज्जब” भनिरहेका छन् । तर मेकर भने खै किन उनीहरुलाई स्पेस दिने मुडमा देखिदैनन् ।
महेशलाई नै निर्माण टिमले प्रचार देखि उनको मेहनतको किस्सालाई बाहिर नल्याएको घटना होस चाहे अरुणको रोल काटिएको घटना र अन्जनाले लाईमलाईट नपाएको अवस्था नै । मेकरको मनमा एउटा डरले कब्जा जमाएको स्पस्ट देखिन्छ । यदी राम्रो काम गरेका कलाकारलाई स्पेस दियो भने औलामा गन्न अटाउने आधा करोड आसपास पारिश्रमिक लिने “हिरो/हिरोईन” हरुको करियर धरापमा पर्छ । यो सब विभेद बाट बाहिर आउन आफ्नो कामको साचै नै सही मानेमा न्याय पाउन कि त विजय बराल बन्न सक्नु पर्यो । विजयको अभिनय अब्बल छ भनेर त कबड्डीका कुनै एक सिरिज मात्रै हेरे पनि दयाहाङ राई छायाँमा परेको स्पस्टै देखेर भन्न सकिन्छ । तर प्रमाणित गर्न विजयको सिनेमाले सय करोड आसपासको व्यापार दिएर देखाउन पर्यो ।
सिनेमाका लागि ठूलो रकम लिएर अभिनय नै नभएका पात्रमा न्याय नै गर्न नसक्ने कलाकारलाई अभिनय गराउने मेकरले कम्तिमा आफुले दिएको रकम बराबरको मात्रै पनि व्यापार उक्त कलाकारलाई लिएर गराउनसकेको छ कि छैन मात्रै हेर्ने हो भने पनि महेशहरु जस्ता इन्डस्ट्रीमा बाच्ने थिए । होइन भने त म्युजिक भिडियो र महोत्सवमा चलेका पल शाहको झै सिने करियर बन्न के बेर !















