काठमाडौं : प्रदर्शनरत सिनेमा ‘लाज शरणम्’को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कर्णालीको सुन्दरता अनि कष्टकर जनजीवन देख्न पाइन्छ । साथै भिडियोमा डोल्पाका मनोरम दृश्यहरू पनि समेटिएको छ भने, कर्णालीको विपन्न परिवारको कथा देखाइएको छ । भिडियोले एक दम्पतीको दुःखसुख र संघर्षलाई भावुक ढंगले प्रस्तुत गरेको छ ।
निर्माण पक्षले प्रर्दशनको तेस्रो दिनमा सार्वजनिक गरेको यो गीतमा सुरज पण्डितको स्वर रहेको छ । सिनेमाका मुख्य पात्र महेश त्रिपाठी र रेणु योगीको अभिनय रहेको गीतमा कथावस्तु खुलासासँगै प्रेमभाव समेत प्रकट गरेको छ । कुमार कट्टेलको निर्देशन रहेको सिनेमाको गीतमा वसन्त उदासको शब्द र संगीत समावेश गरिएको छ ।
लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को टिमले निर्माण गरेको सिनेमामा महेश त्रिपाठी, सिताराम कट्टेल (धुर्मुस), विजय बराल, रेणु योगी, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौलालगायतका कलाकारहरूको उत्कृष्ट अभिनय देख्न सकिन्छ । साथै प्रियाना आचार्य, अर्पण थापा, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायतका कलाकारहरूले पनि सिनेमामा महत्त्वपूर्ण भूमिका निभाएका छन् ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।















