काठमाडौं : सिनेमा ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक भएको ६ घण्टामा नै युट्युबको मुभिज सेक्सनमा ट्रेन्डिङ नम्बर १ मा पुग्न सफल भएको छ । यो समाचार प्रकाशित हुँदा सम्म ट्रेलरले करिब ५ लाख ८६ हजार भ्युज सहित सकारात्मक प्रतिक्रिया पाएको छ, जसले दर्शकहरूबीच सिनेमाप्रति उत्सुकता जगाएको छ ।
सिनेमाको ट्रेलर ट्रेन्डिङमा आउनु र यसको लोकप्रियताले दर्शकहरू सिनेमाप्रति निकै उत्साहित रहेको देखिन्छ । अब सिनेमा प्रदर्शनपछि यसको प्रभाव र सफलता कस्तो रहनेछ भन्ने प्रतिक्षाको विषय बनेको छ ।
फागुन २३ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको सिनेमाको ट्रेलर शुक्रबार राजधानीमा भव्य समारोहबीच सार्वजनिक गरिएको थियो । सिनेमाका निर्देशक सशान कँडेल हुन्, जसले क्याम्पस जीवनका संघर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा चलचित्रमा समेटेका छन् ।
सिनेमामा प्रमुख भूमिकामा पारस बम (कुलब्वाई), रिहान गिरि, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुली रहेका छन् । सिनेमाका गीत तथा नृत्य दर्शकहरूको ध्यान आकर्षित गर्न सफल देखिन्छन्।
‘होस्टेल ३’ नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण हो । यस सिनेमाले कलेज जीवनका विभिन्न पक्षहरू उजागर गर्ने लक्ष्य लिएको छ । सिनेमा सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो।















