काठमाडौं : यही माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘सारंग’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार युट्युबमार्फत् सार्वजनिक २ मिनेट २३ सेकेण्डको ट्रेलरमा पारिवारिक कलह र २ बालकको घनिष्ट मित्रतालाई देखाइएको छ ।
कोरियोग्राफरको रूपमा परिचित प्रशान्त तामाङको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा सम्राट थापा, आदित्य कार्की, उत्पल झा, ऋचा शर्मा, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जङ्ग केसी, प्रभात श्रेष्ठ लगायतको अभिनय रहेको छ।
दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेको सिनेमाको गीतमा शङ्कर थापा ‘स्माइल’ र नकुल कार्कीको सङ्गीत, डिपी खनालको गीत र सुष्मा राईको कोरियोग्राफी रहेको छ । सिनेमाको डिओपी गोपाल राय हुन् । मित्र डी गुरुङले सम्पादन गरेको सिनेमा स्टेसन ५ ले वितरण गर्दै छ ।















