Sur Cinema

‘अञ्जिला’को ‘डल्ले डल्ले खुर्सानी’मा दया र मिरुनाको छमछमी

काठमाडौं : आगामी फागुन २९ गते रिलिज हुने सिनेमा ‘अञ्जिला’को गीत ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक गरिएको छ । यस गीतका गीतकार तथा संगीतकार राजन राज शिवाकोटी हुन् भने गायनमा शिवाकोटी र मेलिना राईको स्वर रहेको छ । गीतमा मौलिक नेपाली शब्दहरू प्रयोग गरिएको छ ।

कविराज गहतराजले कोरियोग्राफ़ी तथा राम कुमार केसीले सिनेमाटोग्राफी गरेको गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको नृत्य रहेको छ । सिनेमाका निर्देशक मिलन चाम्सले यो गीत सिनेमाको प्रचार प्रसारको प्रयोजनको लागि तयार पारिएको बताए ।

यो सिनेमा महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेको छ । सिनेमामा एञ्जिला आफैँ मुख्य भूमिकामा छन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन् ।

सिनेमाको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । सिनेमाको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस सिनेमाका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन् ।