Sur Cinema

शहरी गरिब र सुकुम्वासीको कथा बोकेको ‘आँखा’को विषेश प्रदर्शन हुँदै

काठमाडौं : सामाजिक सञ्जालमा चर्चित ‘मुभी लभर्स ग्रुप’ले असोज ८ गते सिनेमा ‘आँखा’को विशेष प्रदर्शन गर्ने भएको छ । जौन योञ्जनको निर्माण र निर्देशनमा बनेको ‘आँखा’ले शहरी गरिब र सुकुम्वासीको कथा बोकेको छ । पोस्टर र टिजर सार्वजनिक भएसँगै ‘आँखा’ले दर्शकको ध्यान तानेको थियो ।

स्थापनाको दशौँ वार्षिकोत्सवको अवसर पारेर ‘मुभी लभर्स कम्युनिटी’ले यो सिनेमा विशेष प्रदर्शन गर्न लागेको हो । मूलधारभन्दा फरक सिनेमालाई आम दर्शकसामु पुर्‍याउन र त्यसमा बहस गर्न विशेष प्रदर्शन गर्न थालिएको कम्युनिटीले जनाएको छ ।

‘आँखा’मा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, निशा अधिकारीलगायत कलाकारको मुख्य भूमिका छ । यो सिनेमा असोज ८ गते मङ्गलवार बेलुकी ५ बजे सुनधारास्थित सिडीसी सिनेमामा प्रदर्शन हुनेछ । टिकट वेबसाइट https://movieloversnp.com/product/aakha/ बाट खरिद गर्न सकिन्छ ।