काठमाडौं : आनन्द बिक्रम क्षेत्रीको लेखन र शंकर कोइरालाको निर्देशनमा तयार सिनेमा ‘मोदिबेनी’ प्रदर्शनको संघारमा छ । यसै सिनेमा मार्फत बजारले एक नयाँ कलाकार पाउँदैछ । कस्तो चरित्र र चरित्रलाइ कति न्याय गरेको छ, त्यो त प्रदर्शन भए पछि मात्र थाहा होला ।
उनै कलाकार ‘स्नेहा भट्टराई’ आफुले खेलेको सिनेमा प्रदर्शन हुन लागेकोमा खुसी छिन्, पुलकित छिन् अनि भावुक पनि । प्रदर्शनलाई लिएर उत्साहित स्नेहा आफ्नो बाल्यकाललाई सम्झदै लेख्छिन् : ‘बाल्यकालको पोल्टामा जीवन कोल्टिएको बेला तँ ठूलो भएपछी के बन्ने सानी भनेर आमाले सोधिदिँदा म त्यो टेलिभिजन भित्र पस्छु ।’ भन्थेँ अरे ।
त्यो बेला आमाको काखमा लुट्पुटिँदै जन्मिएको ईच्छा म सङ्गै हुर्किदै बढेछ क्यारे ! अहिले त्यही ईच्छाले टेलिभिजनको पर्दा पार गरेर सिनेमा हलको पर्दा भित्र प्रवेश गर्न खोज्दै छु । उनी अगाडि भन्छिन् : ‘कलाकारिता क्षेत्रमा प्रवेश गर्दै गर्दा मनमा हजारौँ प्रश्न थिए । सकिन्छ र ? गाह्रो हुँदैन ? इत्यादि । तर , अविरल संघर्ष पछि के नै असम्भव छ र दुनियाँमा भन्ने थाहा पाए ।’ उनको सोचमा सत्यता देखिए पनि संघर्षले मात्र पुग्दैन, साधना सङ्गै थोरै स्थान उसलाई पनि छोडिदिनु पर्छ जसलाई हामी नाट्यश्वरी मान्छौ ।
उनी भन्छिन् : ‘सपना देख्दै,खुसी हुँदै , निराश हुँदै अनि फेरी खुसी हुँदै आज मेरो जीवनकै महत्वपूर्ण घडीमा आईपुगेकी छु ।’ उनको आसय उनि अभिनित पहिलो सिनेमा “मोदीबेनी” साउन १८ बाट देश भरका सिनेमाका रङ्गिन पर्दा भित्र प्रवेश गर्दैछ ।
“मेरो पहिलो सिनेमाबाट मैले धेरै सिक्न पाएँ , धेरै जान्न पाएँ ।” उनी लेख्छिन् : ‘मलाई यस ठाउँमा आउन सिकाउने प्रेरणा दिने देखि लिएर , यो स्थानमा देख्दा खुसी हुने , आशावादी सोच अनि भविष्यका लागी आशिर्वाद र हौसला दिने शुभेच्छुक सबै मनहरुप्रती कृतज्ञ छु। मैले जानेको र बुझेको जति सम्पूर्ण ज्ञान लगाएर आफुलाइ सिनेमाको “चरित्र”मा उपस्थित गराएकी छु । हिजोको बालक जो बामे सर्दै थियो आमाको काखमा , उसै गरि आँखा भरी टेलिभिजन ( फलत: सिनेमा) को पर्दामा आफुलाइ छल्काउने प्रारम्भ स्वरुप बामे सर्दैछु । काम जाँच्ने जिम्मा अब दर्शकहरुको ।’
सपना नजिक पुग्दै गर्दा भावुक उनका अनुहारमा तरङ्गका रेसाहरु छल्किदै थिए । भिज्न चाहिरहेका आफ्ना आँखाले एक तमास टोलाउँदै अन्तमा भन्छिन् : ‘पहिलो पल्ट के हुन्छेस् भनेर प्रश्न सोध्ने मेरी आमा प्रती सदैब ऋणि रहने छु।’















