Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सती प्रथा हट्यो, अब जातीय विभेद पनि हट्नुपर्छ : परीक्षा लिम्बू

काठमाडौं : आगामी जेठ १० गतेबाट रिलिज हुने प्रतीक्षित सिनेमा ‘पुजार सार्की’मा ‘गौमाया’ पात्रमार्फत पूर्ण भूमिकामा देखिँदै छिन् परिक्षा लिम्बू । सिनेमा ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिकामा देखिएकि उनि यो सिनेमामा नेपालका तीन सुपरस्टार कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलको साथमा एकसाथ अभिनय गरेकि छिन्, जसलाई विकास सुबेदीले लेखेका हुन् भने दिनेश राउतले निर्देशन गरेका छन् । परीक्षासँगै सिनेमामा अभिनेत्री अञ्जना बराइलीको पनि अभिनय छ । सिनेमा नेपाल र विदेशमा एकसाथ रिलिज हुँदैछ ।

ट्रेलर र गीतमा देखिएको उनको अभिनयबाट दर्शकमाझ पनि उनी परिचित भइसकेकी छन् । परीक्षाले यस सिनेमामा अडिसन मार्फत अभिनय सुरक्षित गरेकी थिइन् । उनले अडिसनको लागि ६ वटा भिडियो पठाएकी थिइन्। ‘उहाँहरूले मंगोलियन लुक्सकी युवती खोजिरहनुभएको रहेछ । मलाई चिन्नु हुनेले सिनेमाको अडिसन खुलेकोले प्रयास गर्न भन्नुभयो । त्यसपछि मैले सुरुमा एउटा भिडियो पठाएँ । म सिनेमामा अनुबन्धित हुनुअघिसम्म ६ वटा भिडियो पठाएँ’, उनले भनिन् ।

अभिनयको भिडियो पठाइरहँदा उनलाई कास्की जिल्लाको कास्कीकोट क्षेत्रको स्थानीय लवज बोल्न समस्या भयो । लवजकै कारण परीक्षालाई यस सिनेमामा काम गर्ने या नगर्ने भन्ने अन्योल सिर्जना भयो। यसको लागि सिनेमाको टिमले उनलाई भाषा ‘प्राक्टिस’ गरायो। यो सिनेमाको लागि जरुरी हुने भाषा र चरित्रको सबै सम्भावना देखेपछि उनी ‘पुजार सार्की’मा फाइनल भइन् ।

परीक्षा यस सिनेमामा ‘मैतबहादुर’को चरित्रमा देखिएका अभिनेता प्रदीप खड्काको जोडी ‘गौमाया मगर’को भूमिकामा देखिँदै छिन् । परीक्षा भन्छिन् , ‘मैले प्रदीपजीबाट धेरै कुरा सिकेँ । उहाँ कसरी काम गर्नु हुँदो रहेछ र कसरी क्यारेक्टरमा बस्नुहुँदो रहेछ भन्ने थाहा पाएँ । व्यक्तिगत रूपमा उहाँ सहयोगी हुनुहुँदो रहेछ ।’

चलचित्रमा प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह प्रमुख भूमिकामा छन् । परीक्षालाई चलचित्रका तीन स्टारसँग सहकार्य गरिरहँदा के होला भन्ने चासो रहेछ। ‘उहाँहरू कसरी काम गर्नुहुन्छ अथवा मलाई कसरी ‘ट्रिट’ गर्नुहुन्छ होला भन्ने कौतुहलता र डर थियो। तर उहाँहरूलाई भेटिसकेपछि त्यो सबै हरायो। उहाँहरूसँग त केही सिक्न पाउँछु भन्ने अनुभव भयो’, उनले भनिन्।

सिनेमामा प्रदीपसँग परीक्षाको अन्तरजातीय प्रेम छ । सिनेमामा गरेको अभिनयबाट प्राप्त अनुभवमा अन्तरजातीय प्रेम निकै गाह्रो हुने महसुस परीक्षाले गरेकी छन् । ‘सिनेमामा म मगर समुदायको प्रतिनिधित्व गर्छु । हाम्रो समाजले अझै पनि जात भनेर हेरिरहेको छ । त्यो हेराइले उहाँहरूलाई मात्र नभएर उहाँहरूसँग जोडिएका सबै मान्छेहरूलाई गाह्रो हुन्छ । प्रेम गर्ने जोडीलाई त यो मामलामा झनै गाह्रो हुँदो रहेछ’, परीक्षा भन्छिन्, ‘मेरो हकमा त्यो गाह्रो सिनेमामा क्यारेक्टर भएर महसुस गर्न पाएँ। जुन रियल लाइफमा महसुस गर्न पाएको छैन् । त्यो अनुभवका लागि म भाग्यशाली पनि छु ।’

परीक्षा पूर्वकी, भाषा पश्चिमको । परीक्षाले यही चरित्रका लागि अध्ययन समेत गर्नुपर्‍यो, जुन अध्ययन उनका लागि रमाइलो अनुभव बनेको छ । ‘आफूबाट अर्को मान्छे हुन पाउँदा इन्जोय गरेँ । किनभने ‘रियल’मा म जस्तो छु त्यो भन्दा फरक ‘रिल’मा छु । मलाई उताको भाषा र जीवनशैलीले अलि गाह्रो अनुभव भयो। म पूर्वको मान्छे, पश्चिममा कसरी भिज्ने होला भन्ने चुनौती थियो,’ परीक्षाले बताइन्।

परीक्षालाई ‘पुजार सार्की’बाट ठुलो आस छ । उनको बुझाइमा उनको उमेरका धेरै दर्शकले ‘पुजार सार्की’ हेर्नुपर्छ। ‘किनभने पछि गएर समाज र देशको भविष्य बनाउने हामीले नै हो । अहिलेका मानिसलाई जातीय विभेद नगर्नु भनेर सम्झाउँदा अलिक समय लाग्छ, तर सानैदेखि नै जातीय विभेद गर्नुहुँदैन भनेर सिकाउन सकियो भने त्यो भविष्यका लागि फलदायी हुनसक्छ। सिनेमाले २०४६ मा हाम्रो समाज यस्तो थियो, अब यस्तो हुनुहुँदैन भन्ने सन्देश दिन्छ । उनी भन्छिन्, कुनै बेलाको सती प्रथा हट्यो, त्यसकारण अब जातीय विभेद पनि हट्नुपर्छ भन्ने हाम्रो भनाई हो ।