Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सुरुमा सबै सर्जकले आफ्नै बारे लेख्छन् : उपेन्द्र सुब्बा

काठमाडौँ : ‘विश्वका हरेक जसो सर्जकले सुरुवाती चरणमा आफ्नो बारे लेख्छन् । बिस्तारै आफूले जानेका बुझेका विषयमा लेख्छन् । र, यसरी नै अघि बढ्छन् ।’ दोस्रो सिनेमा ‘मनसरा’सम्म आइपुग्दा उपेन्द्र सुब्बा आफ्नै बारे सिनेमा बनाएको आरोपको स्पस्टिकरण यसरी दिन्छन् । उनले आफू लिम्बू भएकाले यही समुदायका कथा उठाउन सहज हुने बताए । तर यो मात्रै रहेनछ उनले लिम्बू समुदायको बारे सिनेमा बनाउनुको पछिको कारण ।
 
‘मुन्धुम बोलिँदै आइयो । मेरो बाउले बोले, बाउका बाउले पनि र मैले पनि । लेख्ने क्रम सुरु नहुँदा सम्म आफ्ना संस्कार बोलिँदै नै आएको हो ।’ यसो भन्दै गर्दा उनले मुन्धुमबाट नै जति पनि साहित्य सिर्जना गर्न सक्ने बताए । पूर्वी नेपालमा बस्ने लिम्बू समुदाय संस्कार संस्कृतिमा अलि बढी नै धनी छ । यो समुदाय भित्र साहित्य, सङ्गीत  र समग्रमा कलाको चर्चा गर्दा उपेन्द्र झन्डै झन्डै नेपाली साहित्यमा सर्जक स्रष्टा लिम्बू समुदायमा पनि भएको बताउँछन् । 

‘मनसरा’ सिनेमाको ट्रेलरमा ‘पालम’ समेटिएको छ । सतही तवरले बुझ्दा पालम ‘तरुनी’ फकाउन प्रयोग गरिन्छ । तर, वास्तवमा पालमले लिम्बुको जीवन बोल्ने उपेन्द्र बताउँछन् । दु:ख सु:ख माया प्रेम सबै भाव पालमको प्रयोग गरी अभिव्यक्त गर्ने गरिन्छ । र, यहीँ  पालम चिनाउन पनि उपेन्द्र आफ्ना सिनेमा बनाउने गर्छन् । 

यसअघि उनले सफल सिनेमा ‘जारी’ दर्शकलाई जिम्मा लगाई सकेका छन् । जारी प्रथा जुन अन्त्य भएको लामै समय भयो । तर, आगामी पुस्तालाई आफ्नो समाजमा यस्तो पनि कथा थियो भनेर बुझाउन उनले यो विषय उठाएका थिए । उनी माथि आफ्नो समुदायमा मात्रै केन्द्रित भएको आरोप छदै छ । पुनः यसको जवाफमा उनी नेपाल भित्रका सबै जातजाती र संस्कृति सबैको हुने बताए । उनी बुझ्नेले त हेर्छन् नै नबुझ्नेले पनि यस्तो हुँदो रहेछ भनेर थप एक समुदाय बारे जानकारी पाउने हुँदा यो गलत नभएको तर्क गर्छन् । 

यही बारे कुरा गर्दै मेकरले मेरो ‘सिनेमा साहित्य’बुझेनन् भन्ने गरेको बारे भने आपत्ति जनाए । उनका अनुसार मेकरलाई दर्शक र स्रोताले बुझेनन् भन्ने छुट भने नहुने रहेछ । जसका लागि लेखेको उसले बुझ्न पर्ने बताउँदै बुझाउन नसक्दा मेकर असफल हुने तर्फ उनी सङ्केत गर्छन् । बुझ्नेले केही न केही पक्कै बुज्छ फरक यति हो उसले उसको क्षमता अनुसार बुझ्छ । 

‘मनसरा’ सिनेमाको चर्चा गर्दा, मनसरा एक प्रजातिको धान हो । जुन धान आफै पनि फल्छ तर यसमा फौडेल धान मिसाउने हो भने अझ राम्रो हुने गर्छ । यही अर्थमा रहेर उनले अन्तर्जातीय प्रेम र विवाहेत्तर प्रेमको कथालाई उठाएका छन् । वैशाख २४ गतेबाट हलमा लाग्ने यो सिनेमालाई लिएर दर्शक उत्साहित छन् ।