Sur Cinema

तीन हस्तीलाई तीन प्रश्न !

सुरेन्द्र थापा

सुरेन्द्र थापा

काठमाडौं : नेपाली सिनेमाको ईतिहास त्यति लामो छैन् । तर यो छोटो अवधिमा धेरै आरोह अवरोहहरु आए, गए ।   ६० वर्ष अघि शुरु भएको सिनेमा यात्रा आज पर्यन्त जारी छ । ती उतारचढावले कतिलाई अझ बलियो बनाउन मद्दत पुर्यायो भने कतिलाइ बिस्थापित नै बनायो भन्दा पनि फरक नपर्ला । शुरुवाती चरणमा सिनेमालाइ साहित्यको दर्जा दिइन्थ्यो । महसुसलाई मस्तिष्कको माध्यमबाट दृश्य भाषा मार्फत आम मानिसमा पुर्याइन्थ्यो र उनिहरुलाई छुट्टै दुनियाँको आनन्द दिइन्थ्यो । त्यस किसिमका  सिनेमाको रुप कतै कतै अझै जिवित भेटिन्छ ।

“दर्पण छाँया” ( निर्देशक: तुलसि घिमिरे) सम्म साहित्य श्रीजनाको  झल्को पाइने सिनेमाको यात्रा बिस्तारै ब्यापारको मनस्थितिबाट तन्कन थाल्यो । सिनेमा अब साहित्य पछाडिको व्यापार हैन् , केवल  व्यापारमा मात्र खुम्चियो । त्यो फड्कोबाट सन्तोष लिने ठाउँहरु त भेटिएलान,  तर लामो समय सम्म  सिनेमा पारखीहरुको मन र मस्तिष्कमा रङ्ग भरिदिने त्यो इन्द्रेणीको तस्विर क्रमस : मधुरो हुँदै गएको पाइन्छ । अघिल्लो युगको सिनेमाले झै दिने बास्ना बिस्तारै हराउदै गयो । पुस्तान्तरण सङ्गै सिनेमा साहित्यको रुप बदलियो , श्रीजनाकारहरु सङ्गै पारखीहरुको सोच पनि फेरियो । जुनसुकै प्रकृतिको भए पनि मनोरन्जन र व्यापार भइदिए  पुग्ने अवस्थामा गएर सिनेमाको गति रोकियो ।

अझै पनि त्यो युगका केही यस्ता पुराना पुस्ताहरु सक्रिय हुनुहुन्छ, जस्ले हिजो र आजको दिनमा सिनेमालाइ  नजिकबाट हेरिरहनुभएको छ, अनुभव गरिरहनु भएको छ । ती अग्रजहरुले देखेको हिजो र आजको परिस्थितीलाई  उहाँहरुकै  दृष्टिबाट हेर्ने प्रयत्न गरेका छौ ।

१. सिनेमा क्षेत्रमा काम गर्ने त्यो हिजोको पुस्ता र आजको पुस्ताको मनोबिज्ञान (सोच) लाई कसरी हेर्नुहुन्छ ?
नीर शाह : हिजोको पुस्ता र आजको पुस्तामा समाजको हरेक क्षेत्रमा नै  धेर थोर  भिन्नता भएको देख्न सकिन्छ र, सुन्न पनि सकिन्छ । देख्ने र सुन्ने कुरामा आएको मनोबैज्ञानिक भिन्नताबाट सिनेकर्म अलग रहन सक्ने कुरै भएन । अरु क्षेत्रमा जस्तै सिने क्षेत्रमा पनि एउटा भिन्न सोचले जन्म लिएको छ । त्यसको सबैभन्दा जलन्त उदाहरण हिजो बन्ने गरेको सिनेमा र आज बन्ने गरेको सिनेमाहरु नै हुन् । आज बनेका सिनेमाहरुले नै त्यो फरक मनोबैज्ञानिक सोचलाई प्रमाणित गरिरहेको छन् ।
यस्तो हुनुमा समयले स्वत: निर्माण गर्ने मनोबिज्ञान सङ्गै थुप्रै अरु सामाजिक, आर्थिक र राजनैतिक कारणहरु पनि छन् । तर, तिनवटा कुराले मुख्य भुमिका खेलेको मैले अनुभुत गरेको छु ।

एक, हिजो सम्म यति सम्म गर्न मात्र स्वतन्त्र छौ भन्ने सोचको सट्टा आज देखा परेको हामी  जे गर्न पनि स्वतन्त्र छौ भन्ने मनोबिज्ञनको बिकास,
दुई, जसरी पनि नेपाली सिनेकर्मलाई स्थापित गर्न सक्नु पर्छ भन्ने हिजोको मनोबिज्ञानको ठाउलाई सिनेकर्मलाई सिनेकर्मकै लागि बिकास गर्नुपर्छ भन्ने आजको मनोबिज्ञान,
तीन, हिजो भारत सम्म मात्र सिमित रहेको दर्शक मनोबिज्ञानआज अन्तरदेशिय हुदै अन्तर्राष्ट्रिय मापदण्ड सङ्ग हुर्किएको यथार्थ।

प्रकाश सायमी : हिजोको पुस्ता र आजको पुस्ताको मनोबिज्ञान एकदमै फरक छ सिनेमा क्षेत्रमा । हिजोको पुस्ताले नेपाली सिनेमा क्षेत्रलाई उद्योगको रुपमा संस्थापन गर्नका लागि आफुलाई समर्पण गरेका थिए, त्याग गरेका थिए । हिजो जुनसुकै परिस्थितिमा पनि अध्ययन भए पनि नभएपनी, अभ्यास भए पनि नभए पनि, हातमा डिग्री डिप्लोमा भए पनि नभएपनी, त्यो बिचार र बिश्वासलाई कायम गर्नका लागि त्यो पुस्ता समर्पित भएको थियो, बलिदान भएको थियो, र, आज व्यवसायी मुखी बढी भएको छ । र, ब्यवसायी मुखी दुई कारणले, एउटा जिउनु पर्ने बाध्यता र अर्को अहिलेको युगको एउटा छनोट पनि बनेको छ ।

मिथिला शर्मा :  सोच समय र परिस्थिति अनुसार परिवर्तन हुँदै जान्छ नै । तर, संस्कार अनि साधनाले कलाकारको सोचमा परिपक्वता ल्याउने हो । सिनेमा क्षेत्रमा काम गर्ने हिजोको पुस्ताहरु साधनामा विश्वास गर्थे । त्यही भावनाले नै अनेकौ दुख कष्ट भोगेर पनी यो क्षेत्रलाई बचाउनुका साथै अगाडी बढाए, जस्ले गर्दा आज हामी यो क्षेत्रमा काम गर्दै छौ । हिजोको पुस्ता ब्यबसायिक  रुपमा कमजोर रहे पनि सिनेमा क्षेत्रको इतिहास रच्न सफल रहे । सिने क्षेत्रका आजका पुस्ताहरु साधना भन्दा  साधनमा बढि विश्वास गर्छन् । त्यसैले गर्दा पनि आजको प्रबिधि सङ्ग डटेर प्रतिस्पर्धा गर्दै पनि छन् । विश्व बजारमा आफुलाई पुर्याउने दौडमा लाग्दै गर्दा हाम्रो जस्तो अस्थिर बजारमा निकै कठिनाइ पनि भोगिनै रहेका छन् । आजको पुस्ता व्यवसायीक रुपमा कोही, केही सफल रहे पनि धेरैले त्यो सफलता सुनेका र पढेका होलान् ।  तर, तिनको पोल्टामा परेको छैन र पनि आफ्नो कर्म गर्न छोडेका छैनन यो सुखद पक्ष हो ।

२. आजको दिनमा, त्यो चाहिँ नभइदिए हुने भन्ने  लाग्छ कि नाइ ! के कुराले दुखी बनाउछ ?
मिथिला शर्मा :  मेरो ब्यक्तिगत कुनै गुनासो छैन् । म, मेरो कलाकारिता प्रस्तुतिको माध्यम रंगमञ्च र सिनेमा दुबै क्षेत्रप्रति संधै आभारी छु जस्ले मलाई मेरो परिचय दिलाएको छ । म दुखी हैन्, खुसी छु । तर पनि राम्रो सिनेमाले राम्रो व्यापार गर्न सकुन अनि सबै सिनेकर्मीहरु आफ्नै  क्षेत्रमा आत्मा निर्भर  हुन सकुन भन्ने लाग्छ ।

प्रकाश शायमी :  एउटै कुरा म के भन्न सक्छु भने, न भैदिए हुन्थ्यो भन्ने कुरा त केही पनि लाग्दैन, भएको कुरालाई चाहिँ संसोधन, सम्पादन वा अझै परिस्कृत गर्न सके अझै राम्रो हुन्थ्यो भन्ने लाग्छ ।

नीर शाह :
सिने क्षेत्रमा भएको भिन्नता बारे यसको मनोबिज्ञानलाई विश्लेषण गर्ने काममा पनि क्रमस गर्ने प्रयास गरिएको तयारी कुनै पनि कुराको बिकासक्रममा अपेक्षित प्रसङ्गहरु मात्रै भित्रिएका हुदैनन् । विशेष गरि तत् सम्बन्धि नीति निर्माण गर्दा त्यस नीति नियम थरी थरीका असल र कमसल प्रतिफलहरु प्राप्त भएकै हुन्छन् । असल प्रतिफललाई कम प्रभाकारी रुपमा प्रयोग गर्दै जानू र कमसल प्रतिफल हरु लाई न्यूनीकरण गर्दै जानू नै त्यस्तो परिस्थितिको सहि उपयोग भएको ठहरिन्छ । यस्तै क्रममा मलाई अलि बढी नै चिन्तित तुल्याएको नीति चाहिँ “करबाट उठेको रकमको ७५% निर्मातालाई र १५% प्रदर्शकलाई नै राज्यको तर्फबाट दिने नितिलाई खारेज गर्न हुदैन थियो भन्ने मात्रै हो ।” यस्तो नीतिले त्यतिबेला पनि सिनेकर्मलाई  तात्विक उन्नती दिलाएको थियो । आज पनि दिलाउन सक्थ्यो ।

३ . हिजो भन्दा आज, सिनेमाको गहिराइ/ सुन्दरता घट्दै गएको लाग्छ कि नाइ?
प्रकाश सायमी : म आफै अन्योलमा छु, सबैभन्दा पहिला यो सिनेमा क्षेत्र भन्ने नै अन्योलको क्षेत्र हो । यसको भविष्य छैन भनेर सन १९०२ को हाराहारीमा नै  सिने मेकर जज मेलियले भनेको भए पनि सिनेमाले आफ्नो डिभाईसलाई बदल्दै जान्छ । जुन ग्ल्यामरमा वा जुन प्रबिधिमा हिजो हामी काम गर्थ्यौ , जस्तो हिजो हामी जसरी हातमा रिल लिएर काम गर्थ्यौ, अहिले रिलमा हामी काम गर्दैनौ, तै पनि हामी के भन्छौ भने नि, “रियल लाईफ र रिल लाईफ”को फरक नै यहि हो भन्छौ ।अहिले लाईफ चाहिँ रियल छ, सिनेमा चाहिँ रील त हैन, डिभाइस (यन्त्र) हो , त्यसले गर्दा पहिलो कुरा त रिलको सौन्दर्य वा सुन्दरता  नै घटिसक्यो । अहिले चाहिँ पुरै टेक्नोलोजीकल टेक्नोक्राप्ट अझै विशेष भन्ने हो भने कला, रङ्गले भन्दा पनि प्रबिधिको ढङ्गले सजिएको कला बन्दै गएको छ । स्वभाविक कलाको गहिराई त घटेकै हुन्छ नै । तर, त्यसबाहेक यस्को सम्बर्द्धन र बिकासका निम्ति यो पुस्ता समर्पित हुन जरुरी देखिन्छ ।

नीर शाह : सुन्दरता र त्यसको गहिराई तत्कालको लागि अर्कै देखिएपनी यसको अर्थ हुन समय सापेक्ष परिस्थितिको प्रतीक्षा गर्न सक्नुपर्छ । आज असुन्दर र सतही देखिएको कुरा भोलि सुन्दर र गहिरो पनि देखिन सक्छ । आज गहिरो र सुन्दर देखिएको कुरा भोलि असुन्दर र सतही पनि देखिन सक्छ । तर यो भन्दा ससक्त  र शाश्वत सत्य चाहिँ, सुन्दर र गहिरो  सावित  हुन्छ हुन्छ, जो हुन सक्दैनन्  ती थिदै थिएन । एउटा सुन्दर चित्रको बयान त्यतिबेला गर्न सकिन्छ जब त्यसले क्यानभासमा पुर्णता प्राप्त गर्छ । एउटा धर्का मात्र कोरिएको अथवा एउटा रङ्ग मात्रै छरिएको चित्रले कस्तो आकार लिन्छ त्यतिबेला भन्न सकिँदैन । त्यस्तै पुर्णता पाउन्जेल सम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

एउटा अलग धार, फरक कथा र फरक शैलिबाट भन्ने सिनेमा युगको प्रारम्भ भएको छ । नेपालमा यो एकदमै सकारात्मक प्रयास हो । यसलाई प्रोत्साहित गर्नुपर्छ । तर यति मै खुशी भैरहनु पर्ने अवस्थामा चाहिँ पुग्न हुन्न । पुर्ण चित्रको प्रतिक्षामा बस्नु पर्छ । कर्मचाही निष्ठापुर्वक निर्वाह गर्ने तर्फ लाग्न सक्नु पर्छ ।

मिथिला शर्मा :  सिनेक्षेत्रले तत्कालिन समय, समाजको आवाज ,परिस्थिति , परिवर्तनको लहरहरु ल्याउनका लागि अभिनय र प्राबिधिको  सहयोगले सिनेमाको  कथावस्तुको भावलाई हामिले प्रस्तुत गर्ने हो । दर्शकहरुले त्यो भावनालाइ स्विकार गरेमा अर्थात रुचाउनु भएमा त्यो कथाको वजन बढ्छ ।  त्यसैले हिजो र आज भन्ने हुँदैन जस्तो लाग्छ । विषय, त्यस्को प्रस्तुती र प्रस्तुत गर्ने  कलाकार अनि प्राबिधिकले कुन हिसाबले आफ्नो जिम्मेवारी निभाएका छन्, त्यो महत्वपुर्ण हो । हिजोलाई हेरि आज राम्रा पनि भएका छन् । हामिले सकरात्मक सोच्ने हो ।