काठमाडौं : आगामी फागुन २५ गते महाशिवरात्रिको दिनबाट सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलर एक्सन बेस्ड देखिन्छ । सिनेमाका सबै जसो कलाकार समेटिएको ट्रेलरलाई ‘डर र शक्तिको खेल’को रूपमा प्रस्तुत गरिएको छ ।
रङ्गेली नामक तराईको एक स्थानलाई नामको रुपमा लिएर बनेको सिनेमामा तराई क्षेत्रमा घटेका विविध घटनाहरू र आयामहरूलाई दृश्य मार्फत देखाउने कोसिस सङै राजनीति स्तिथिको समेत चित्रण गर्ने प्रयास गरिएको छ ।
कार्यक्रममा बोल्दै लेखक तथा निर्देशक अर्जुन सुवेदीले ‘रङ्गेली’ दर्शकले चाहेको जस्तो सिनेमा बनाउने कोसिस गरेका बताए । उनले भने, ” प्रचण्ड गर्मीको मौसममा तराई क्षेत्रमा धेरै मेहनत गरेर यो सिनेमा बनाएका छौँ । रङ्गेलीको कथा तराई क्षेत्रको कथा हो । ट्रेलर हेरेर इमानदार प्रतिक्रिया चाहेको छु ।”

अभिनेता रुपेश झाले ‘रङ्गेली’ले तराईको कथा मात्र नभनी त्यहाँको संस्कृति पनि झल्काउने बताए । त्यस्तै अभिनेता प्रवीण खतिवडाले सिनेमा बनाउनु र रिलिज गर्नु सहज नभएको बताउँदै दर्शकको साथको अपेक्षा गरेको जनाए ।
‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस सिनेमाका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
सिनेमाका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् भने सिनेमाका छायांकार सुशन प्रजापति हुन् ।














