Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘महाजात्रा’ले मलाई धेरै कुरा सिकाएको छ : अर्बिन खड्का

काठमाडौं : आफ्नो इमानमा बस्न रुचाउने श्रीमती र परिस्थितीले बेइमान बन्न धकेलिएको श्रीमानको घर झगडाका कारण बिथोलिएको एउटा बालकको बाल मस्तिष्क (जो आठ वर्षको छ) । आफ्नो  विद्यालयको वार्षिक उत्सव र अभिभावक दिवसको सन्दर्भ पारेर त्यो बच्चाले दिएको एक मन्तव्यले सिनेमा ‘जात्रै जात्रा’ हेर्दै जाँदा मन कटक्क खान्थ्यो ।  यसै पनि बाल मस्तिष्क, त्यस्मा पनि अब्बल अभिनयले  सिनेमा ‘जात्रा’ मार्फत यसरी दर्शकलाई आफूतिर तान्न सफल भए अर्बिन खड्का ।

बाबा, ममि र दुई दिदिसँग अर्बिन कपुरधारामा बस्छन् । उनी अहिले एसईईको तयारीमा पनि छन् । जुनसुकै उमेरका बाबूआमा पनि उनको त्यो प्रस्तुतिबाट मोहित भए । उनको उक्त सिनेमाका माता पिता ( बिपिन कार्की र वर्षा राउत)ले झैं कयौं दम्पतीमा त्यस किसिमको उतारचढाव  भएका यदाकदाका घटना सिनेमा मार्फत देखेर पनि होला धेरैलाई भावुक पनि बनायो । 

आमा कमला खड्का र बाबा चन्द्र खड्का छोरा अर्बिन खड्का आफ्नो  पहिलो सिनेमा ‘जात्रा’मा काम गर्दैगर्दा पाँच बर्षका थिए। उनै कलाकार अर्बिन खड्काले अहिले ‘जात्रा’को तेस्रो सिक्वेलसम्मको यात्रा तय गरिसकेका छन् । ‘महाजात्रा’ चैत ९ गतेबाट नेपालभर रिलिज हुँदैछ। जसको प्रचारप्रसारमा पुरै टिम यतिबेला लागिरहेको छ।

उनै अर्बिन, जसले दर्शकको ध्यान आफूतिर केन्द्रित गर्न सफल भए आज सुरसिनेमाकर्मी सुरेन्द्र थापाले उनैसँग भेटेर गरेको कुराकानीको सम्पादित अंश:  

– अभिनय कसले सिकायो तपाईंलाई ? कि गडगिफ्ट मानौँ ?

अलि अलि त गडगिफ्ट पनि चाहिन्छ तर सिकाउने गाइड गर्ने मान्छे भएन भने त गारो भइहाल्छ नि। मेरो अभिनयको गुरु चाहिँ प्रदिप सर (जात्रा निर्देशक),  रबिन्द्र सर (कलाकार तथा प्रस्तुतकर्ता ), उहाँहरुबाट अभिनयका लागि चाहिने आवश्यक कुराहरु सिकेँ । धेरै कुराहरु सिक्न पाएँ, मेक्स सर (निर्माता जात्रा) जेबि सर लगायत ‘जात्रा’ सँग जोडिनु भएका जति पनि मेम्बर हुनुहुन्छ, उहाँहरु सबैको साथ र सहयोगले म यहाँसम्म आएको हुँ ।

 – तपाईं आफूलाई अभिनय गर्छु भन्ने चाहिँ कहिलेबाट थाहा भयो ?

‘जात्रा’ एकमा त म सानै थिएँ। खासै ख्याल हुन्नथ्यो। जब ‘जात्रा’ हिट भयो र अभिनय भनेको यस्तो रहेछ भनेर थाहा पाएँ। अनि बिस्तारै बिपिन ड्याडी (बिपिन कार्की) को क्यारिकेचर गर्न थालेँ। घरमा ऐनाको सामु होस् या यत्तिकै म एक्टिक प्राक्टिस गरिरहेको हुन्थेँ, खुब आनन्द लाग्थ्यो । मेरो अभिनयप्रतिको इन्ट्रेष्ट  मेरो ममी बाबाले  नजिकबाट बुझ्नुभयो। रहरबाट सुरु भयो र अहिले त्यो प्यासन बनेको छ ।

– उसो भए परिवारले पनि भरोसा दिनुहुन्छ होला ?

मेरो मामु ड्याडीको खुब सपोर्ट रहेको छ । त्यसपछी मामुले मलाई अभिनयका गुरु केदार श्रेष्ठ  सरसँग अभिनय क्लास जोइन गराइस्यो । अनि अझै सिक्न थालेँ, राम्रो भयो । अभिनयको औपचारिक गुरु चाहिँ उहाँ नै हो। उहाँको क्लास छ भने म जुनसुकै समयमा पनि गएर जोइन भइहाल्छु । उहाँको गाइडले मलाइ एकदम सजिलो बनाइदिएको छ। एक्टिङ्ग भनेको के हो भन्ने कुरा झन् मज्जाले बुझेको छु। अहिले त एक्टिङ्ग गर्दा आनन्द आउँछ। सेटिस्फाइड हुन्छ। आफूसँग रहर भएर मात्र नहुने रहेछ। आफूलाई निर्देशन र प्रशिक्षण गर्ने कोही भयो भने झन् मजा लाग्ने ।

– अभिनय भनेको के रहेछ त उसो भए ?

कथा भित्रको क्यारेक्टरलाई नजिकबाट बुझेर, पढेर भित्री आत्माबाट व्यक्त गर्नु नै अभिनय रहेछ । जो हेर्नेले रिलेट गरोस् या त्यो पात्रलाई बुझोस्। तर अभिनय भन्ने कसैले सिकाएर मात्र नपुग्ने रहेछ। उहाँहरुले त क्यारेक्टर बुझाउन मद्दत गर्ने, क्यारेक्टर भन्दा बाहिर गयो भने सचेत मात्र गराउने हो। धेरै कुरा हामी आफै भित्र पनि हुनपर्छ जस्तो लाग्छ।

– तपाईंको अभिनय यात्रालाई ‘जात्रा’ ले कत्तिको सहयोग गर्यो ?

 ‘जात्रा’, ‘जात्रै जात्रा’पछि आउन लागेको ‘महाजात्रा’ले मलाई धेरै कुरा सिकाएको छ । अभिनयमा सन्तुष्टि हुन्छ । धेरै कुराहरु देख्न भोग्न र सिक्न पाइन्छ । आफ्नो काममा जति इन्जोय गर्‍यो, कामको रिजल्ट त्यति नै राम्रो हुने रहेछ । गाह्रो, अप्ठ्यारो त जहाँ पनि हुन्छ, यहाँ पनि छ । तर नयाँनयाँ मौकाहरु आउँदै जान्छन्। जुन मौकालाई प्रमाणित गर्न अघिल्ला कामहरुले खुब सजिलो बनाइदिएको छ। 

– अनि पढाई र अभिनयलाई कसरी मिलाउनु हुन्छ त ? फेरि तपाईंको एसईई पनि आउँदैछ क्या रे !

पहिलो प्राथमिकता त मेरो अध्ययन नै हो ।  सकभर बिदाको मौका पारेर सुट गर्ने गरेको छु ।  परिक्षा  बाहेक अरुबेला चाहिँ  कहिलेकाहीँ बिदा पनि लिने गर्छु । 

सधै मिलाउन त अलि गाह्रो हुन्छ र पनि म्यानेज भइरहेको छ । अब त ‘सी’ पनि आउँदैछ। ‘महाजात्रा’ रिलिज पनि हुँदैछ। अलिकति गाह्रो चाहिँ यो बेला भएको छ । तर प्रदिप सर र रबिन्द्र सरहरुको सहयोगले म्यानेज गर्न सजिलो भएको छ । मेरो पढाईलाई पनि उहाँहरुले बिचार गरेरै सिनेमाका प्रोग्रामहरुमा सहभागी गराउँछु भन्नु भएको छ।

– ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘महाजात्रा’मा काम गर्दै जाँदा के फरक पाउनु भयो आफूमा ?

सुरुमा सानै थिएँ, अहिले ठूलो भएको छु ( मुसुक्क हासे उनी)। समय सँगै मेरो अभिनय राम्रो हुँदै आएको छ। झन् बुझ्दै गएको छु । सबैलाई मनपर्ने, कसरी गर्ने ? सरहरुसङ्ग सोध्छु, सिक्छु । पहिलो ‘जात्रा’को समय र अहिलेको समय फरक छ। सबै भन्दा ठूलो कुरा आफुलाई दिएको क्यारेक्टरलाई कसरी राम्रो गर्ने भन्ने हुँदोरहेछ। प्रयास गरिरहेको हुन्छु । 

– पहिला र अहिलेमा आफ्नो परिवार र साथीभाइले तपाईंसँग गर्ने व्यवहारमा केही फरक पाउनु भएको छ ?

नाईं-नाईं  त्यस्तो केही छैन। झन् राम्रो गर्नुहुन्छ । हिजो मेरो चाहना अनुसार सबैले सपोर्ट गर्नु भएकै हो। आज पनि माया सपोर्ट उत्तिक्कै छ । मेरो काम देखेर सबैजना खुसी हुनुहुन्छ, स्यावासी दिनुहुन्छ । टिचर अनि साथीहरु सबैले माया गर्नु हुन्छ। झनै इन्करेज गर्नुहुन्छ। मैले भनिहालेँ फेमिलिबाट सधै सपोर्ट छ। मामुले नै मलाई सबै ठाउमा लानुहुन्छ। मामु- बाबा खुशी हुनुहुन्छ। म पनि त्यसैमा खुशी हुन्छु (मुस्कुराउछन् ) ।

– अभिनयलाई कहिलेसम्म लैजानुहुन्छ त ?

सरहरु( मेकर ) र दर्शकले जहिलेसम्म मेरो एक्टिङ्ग मन पराउनुहुन्छ। मसँग एक्टिङ्ग गर्ने इच्छा जहिलेसम्म रहन्छ तबसम्म । तर म त अब सधै लागिरहन्छु अभिनयमा ।

– ‘जात्रा’को तीनवटा प्रोजेक्ट्मा काम गर्दैजाँदा  सबैभन्दा नजिक चाहिँ को लाग्यो नि तपाईंलाई ?

बिपिन ड्याडी र वर्षा ममि । प्रदिप सर, रबिन्द्र सर मेक्स सर अनि सबै क्रु मेम्बरहरु सबै मेरो नजिक हुनुहुन्छ। तीनवटा प्रोजेक्टमा काम गरिसक्दा सबैसँग अट्याच्मेण्ट बढेको छ। सबैले मलाई स्नेह दिनुहुन्छ। म पनि उहाँहरुलाई रेस्पेक्ट गर्छु। 

– अन्तमा साथीभाइहरुलाई केही भन्न चाहनुहुन्छ ? 

यो क्षेत्रमा आउनलाई पहिला त आफ्नो परिवारको धेरै साथ चाहिन्छ। त्यो भयो भने एकदम कन्फिडेन्स आउँछ काममा। सपोर्ट नै हो सबैभन्दा ठूलो कुरा। अनि अर्को कुरा चाहिँ आफुलाई जे कुरामा मन छ, इच्छा छ त्यही गर्नुपर्छ । प्रेसरमा  गरेको काम राम्रो हुन्न भन्न चाहन्छु।