Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

खासमा कलाकार बन्न आएको थिएँ : निर्देशक देउजा

काठमाडौं : सोर्ह वर्षको अल्लारे उमेर थियो । भर्खरै एसएलसी दिएर बसेको समय। घरको काम छल्न के गर्ने त ? मनोरन्जनका विकल्पहरु अत्यन्तै कम थिए । बौद्धमा पाल टाँगेर बनाईएको हलमा ३ रुपैयाँमा भिडियो र सिनेमा देखाइन्थ्यो । त्यही हेर्न आउँथे ज्ञानेन्द्र देउजा।

भिडियोको लत यसरी बस्यो कि उनलाई कलाकार बन्न मन लाग्यो । त्यसैको लागि कहिले हिमालयन कल्चर ग्रुप धाए त कहिले आरोहण नाट्यसमुह । आरोहणमा उनीसँगै पुग्थे विकास आचार्य र सरोज खनाल पनि । आरोहणका उनका समकक्षी सरोज त नायक बने भने विकास चाहिँ देउजा झैँ निर्देशन मै रमाएका छन् । हिमालयनमा रहँदा हेमन्त बुढाथोकी, सुशील पोखरेल, रतन थापा लगायत त अभिनयक्षेत्र मै स्थापित भए ।

अभिनयको रहरै रहरमाझ उनले टेलिसिरियल ‘बिना चिहानको मृत्यु’, ‘कोरस’ लगायतमा अभिनय समेत गरे । क्याम्पस पढ्दै, जागिर गर्दै उनले धेरै सिनेमाका लागि अडिसन पनि दिए । काकाको सम्बन्धलाई पछ्याउँदै यही अभिनयको भुतले तानेर हुनुपर्छ  उनी उद्धव पौडेलको घरसम्म पुगे । उनले ‘तिलहरी’ सिनेमामा पनि सानो तिनो रोल गरेर देख्ने रहर पूरा गरेका छन् ।

रेश आचार्य जसलाई उनी गुरु मान्छन्।टेलिभिजन कार्यक्रमहरुमा पनि उनले प्रोडक्सन मेकपदेखि अभिनयसम्म पनि गरे । यसरी ‘वान म्यान आर्मी’ तरिकाले उनले सिनेमा निर्माणको काम गर्दै थिए । ‘स्पर्श’ सिरियलको क्रममा भने उनले मनिटरमा आँखा पुर्‍याए। र कसरी खिचिन्छ होला भन्ने हुटहुटीले उनले टेक्निकल पाटोमा ध्यान दिन थाले । बिस्तारै धेरै सिरियल र सिनेमाको असिस्टेन्ट डिरेक्टर भएर काम गरे । र अहिले एक राम्रा निर्देशकको रुपमा स्थापित भएका छन् ।

बिपना थापाले अभिनय यात्रा सुरु गरेको काममा पनि उनी असिस्टेन्ट डिरेक्टर थिए । रेश आचार्य कै सिरियल ‘आमा’ मार्फत बिपनाले क्यामेरा फेस गर्न थालेकी हुन् । ‘जन्मभूमि’ भन्दा पनि पहिला बनेको यो सिरियलमा उनले काम गरेका थिए । रेशको असिस्टेन्ट भएर त उनले खुब काम गरे । त्यस पछि बिस्तारै उनले सरकारी तवरमा बन्ने सुचनामुलक भिडियो र लघु सिनेमाका काम गरे ।

‘अर्पण’, ‘टुहुरो’ र आमा लगायत सिनेमाको मुख्य सहायक निर्देशक भएर काम गरे देउजाले । यो सब गरेर उनी आफुलाई निर्देशक बनाउने तयारीमा थिए । उनको हिम्मत बनेका थिए प्रोडक्सन हेर्ने नारायण ध्वज पन्त र छायाँकार मन्जु कुमार श्रेष्ठ। उनीहरुले सिरियल ‘गोलमाल’ बनाउन देउजाको नाम सिफारिस गरेका थिए । यही समुहले प्रोडक्सनमा सहयोग गरेर उनले ‘रक्षक’ सिनेमा गरे । त्यसपछि उनले गोर्खाली सिनेमा गरे । दोश्रो सिनेमापछि उनले पछाडी फर्केर हेर्नू परेन । अब उनको सिनेमा “उपहार” प्रदर्शनको तयारीमा छ । फागुन २५ बाट हलमा लाग्ने सिनेमाको प्रचारमा ब्यस्त उनी यो सिनेमालाई लिएर पनि उत्साहित छन् ।

सिनेमा गर्ने क्रममा दु:खद अनुभव पनि त्यतिकै हुन्छन् । उनलाई सिनेमा इन्डस्ट्रीले आलाकाचा निर्देशक भनेर खासै पत्याउदैन थियो । त्यही समय ‘मुना मदन’ सिनेमाको लागि “मदन” बन्न उनलाई अफर आयो । उनले अभिनय छोडिसकेका थिए । त्यसैले निर्देशन गर्न दिने भए गर्न सक्छु भनिदिए । स्कृप्ट, स्कृन प्ले नहेरेसम्म विस्वास गर्न नसकिने मेकरको कुरा आयो । उनले पनि हुन्छ भनेर करिव ३ वर्ष समय लगाएर अध्ययन गरे ।

लक्ष्मी प्रसाद देवकोटाको जीवनदेखि ‘मुना मदन’ बारे गरिएका धेरै थेसिस पढे । हुने र सक्ने सम्मको अध्ययन गरे । अन्त्यमा मेकरले पत्याए । सिनेमा बन्यो । वाहवाही पनि कमायो । ओस्कार अन्तर्गत पामे फिल्म फेस्टिभलमा स्कृनिङ पनि भयो । तर दु:खद, मेकरले उनलाई आजसम्म पनि पारिश्रमिक दिएका छैनन् । हुन त उनले कुनै लिखित सम्झौता गरेका थिएनन् । बोली मै भर परेर काम गरे । पारिश्रमिक त पाएनन् नै निर्देशकको रुपमा उनलाई फेस्टिभलमा आएको निम्ताका लागि पनि मेकरले अर्का व्यक्ती लिएर गए । र उतै छोडेर आए । यो दु:खद पक्ष बाहेक उनलाइ यो सिनेमाले स्थापित गरायो । त्यसैले पनि उनी धेरै दु:खी भने छैनन् ।