Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘रङ्गेली’मा भगवान् दादा बने अर्पण

काठमाडौँ : नेपाली सिनेमा ‘रङ्गेली’को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । अभिनयमा पोख्त अभिनेता अर्पण थापाको पात्रलाई ‘भगवान् दादा’को रूपमा परिचय गराउँदै पोस्टर सार्वजनिक गरिएको हो । यसअघि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको पात्र अनुसारका पोस्टर सार्वजनिक गरिएको थियो ।

निर्देशक अर्जुन सुवेदीको लेखन रहेको ‘रङ्गेली’मा अर्पण, दयाहाङ र मिरुनाको अलावा प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यो सिनेमा आगामी फागुन २५ गते महाशिवरात्रिको दिन देखि विश्वव्यापी रिलिज हुँदैछ । यस सिनेमाका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

सिनेमाका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

अस्ट्रेलिया र अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो सिनेमा नेपालसँगै नेपालीहरूको बसोबास रहेका अन्य सहरहरु जस्तै जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ ।

जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ तथा अस्ट्रेलियामा ‘हट बिट्स ईभेन्टस्’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् । ओएआर डिजिटल सिनेमाको डिजिटल वितरक हो ।