काठमाडौं : दिपेन्द्र के खनाल निर्देशित सिनेमा ‘पशुपति प्रसाद २: भष्मे डन’ भोलि शनिबारदेखि चौथो हप्तामा प्रवेश गर्दैछ। सिनेमाले हलमा दर्शकको मिश्रित प्रतिक्रिया पायो। अझै पनि हलमा यो सिनेमा लागिरहेको छ। सन्तोषजनक व्यापार पनि सिनेमाले गर्यो। यसैबीच, निर्माण टिमले सफलताको खुशी साटेको छ।
शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै केक काटेर संचारकर्मीहरुको माझ सफलताको खुशी साटेको हो। सफलताको खुशी साट्दै निर्माण टिमले यो सिनेमाको तेस्रो सिक्वेल बनाउने घोषणा समेत गरेको छ।
अब दर्शकले ‘पशुपति प्रसाद ३’ पनि हेर्न पाउनेछन्। तेस्रो सिक्वेल पनि खगेन्द्र लामिछानेले लेख्नेछन्। निर्देशनको जिम्मा दिपेन्द्र के खनालको रहेको छ। लगानी भने रोजिना सिटौलाको रहनेछ।
दर्शकको चाहना अनुरुप तेस्रो सिक्वेल बनाउने निर्माण टिमले प्रतिबद्धता समेत जाहेर गरेको छ। निर्माण टिमका अनुसार सिनेमामा पशुपति प्रसादको कथालाई अगाडि बढाइनेछ।