काठमाडौं : वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ सबै कुरामा निपुण छन्। उनी अब्बल अभिनय त गर्छन् नै, त्यसका साथै लेखन र गायनमा पनि उनी त्यतिकै खारिएका छन्। उनले गाएका थुप्रै गीतहरू चर्चित छन्। यसैबीच, उनले गाएको नयाँ गीत यतिबेला बजारमा छ।
शुक्रबार कृयटिभ ह्याट्सको युट्युब च्यानलबाट मदनकृष्णले गाएको ‘सुनन तिमी राम्री लाग्यो’ बोलको गीत रिलिज गरिएको हो। गीतमा उनको मीठो गायिकी छ। उनको आवाजले सुन्ने स्रोताको मन जित्छ। प्रतिमा श्रेष्ठको शब्द रहेको उक्त गीतमा अनिल शाहीको संगीत रहेको छ।
गीतको अडियो निकै मेलोडियस छ। माया प्रेमका कुराहरु गीतमा गरिएको छ। गीतको अडियो जति अब्बल लाग्छ, भिडियो झन् आकर्षक लाग्छ। भिडियोमा एउटा मीठो प्रेम कथालाई प्रस्तुत गरिएको छ।
मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा भिडियोमा फिचर्ड छन्। उनीहरूको जोडी गजबको देखिएको छ। अझै भन्नुपर्दा मदनकृष्ण र मिथिलाको केमिस्ट्री उच्च देखिएको छ। एउटा मायालु प्रेमिल जोडीको रुपमा उनीहरूलाई फिचर्ड गराइएको छ भिडियोमा।
भिडियोलाई सरना श्रेष्ठले निर्देशन गरेकी छिन्। उत्तम हुमागाँईले आकर्षक फ्रेममा खिचेको भिडियोलाई प्रवीण श्रेष्ठले सम्पादन गरेका छन्।