Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘उपहार’को गीत ‘वाह वाह वाह’ रिलिज, मुकुनसँग रेखाको रोमान्स

काठमाडौं : एकताका नेपाली सिनेमा क्षेत्रमा एकछत्र राज गरेकी नायिका हुन् रेखा थापा। नायिका हुँदै सिनेमा निर्माणमा होमिएकी रेखा लामो समय हराइन्।तर अब भने नयाँ सिनेमा ‘उपहार’बाट कमब्याक भएकी छिन्।

उनै रेखाको नयाँ सिनेमा ‘उपहार’को नयाँ गीत यतिबेला रिलिज गरिएको छ। शुक्रवार निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘वाह वाह वाह’ बोलको गीत रिलिज गरेको हो।

गीतमा गायिका एलिना चौहान र गायक बाबुल गिरीको स्वर रहेको छ। शंकर अधिकारी घायलको शब्द रहेको गीतमा बाबुल गिरीकै संगीत रहेको छ।

गीतको भिडियोमा रेखालाई अभिनेता मुकुन भुसालसँग रोमान्स गर्दै गरेको देख्न सकिन्छ। भिडियोमा रेखा र मुकुनको जोडी जमेको छ पनि। भिडियो हेर्दा सिनेमामा पनि रेखाको जोडीको रुपमा मुकुन हुन सक्ने सजिलै अनुमान लगाउन सकिन्छ।

त्यस्तै, नायिका पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी र समर्पण जंग कार्कीलाई पनि भिडियोमा देख्न सकिन्छ। भिडियोको गुणस्तर उच्च देखिन्छ। निर्माण टिमले खुलेरै गीत र भिडियोमा लगानी गरेको आभाष हुन्छ।

सिनेमालाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन्। सुलक्षण भारतीको कथा रहेको सिनेमामा माधव शर्मा, अभिमन्यू निरवी र सुलक्षण भारतीको पटकथा रहेको छ। सिनेमालाई विष्णु घिमिरेले खिचेका हुन् भने मित्र डि गुरुङले सम्पादन गरेका छन्।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमामा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, अंशु महर्जन लगायतका कलाकारहरुको अभिनय रहेको छ।

सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेको सिनेमामा बलराम शाही ठकुरी कार्यकारी निर्मातामा रहेका छन्। सिनेमा आगामी फागुन २५ गतेदेखि प्रदर्शनमा आउनेछ।