काठमाडौं : लोकप्रिय गायक प्रकाश सपूत अब नायक पनि बनेका छन्। उनको डेव्यू सिनेमा ‘परदेशी २’ शुक्रबारदेखि प्रदर्शनमा आयो। यतिबेला देशभरका सिनेमा हलहरुमा यो सिनेमा प्रदर्शन भइरहेको छ।
पहिलो सिनेमा भएपनि प्रकाश सपुतको कामलाई धेरैले तारिफ गरिरहेका छन्। यसैबीच, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि ‘परदेशी २’को झ्याउरे गीतको भिडियो फेसबुकमा पोस्ट गर्दै उक्त गीत आफूले निकै सुनेको बताएका छन्।
शुक्रबार राति आफ्नो फेसबुक पेजमा ‘परदेशी २’को गीत ‘छुकछुके रेलैमा’को भिडियो पोस्ट गर्दै ओलीले लेखेका छन्,-‘यो गीत सञ्जालहरुमा निकै बजेको सुन्छु र हेर्छु। प्रकाश सपुतको पहिलो फिल्म परदेशी -२ को गीत त यति मीठो, फिल्म कति राम्रो होला ! गुड फ्राइडे, शुभ सन्ध्या।’

उनको उक्त पोस्टमा प्रकाश सपुतका हजारौं फ्यान एवम् शुभचिन्तकहरुले कमेम्ट गरेका छन्। धेरैले डेव्यू नायकलाई हौसला दिँदै उक्त भिडियो पोस्ट गरेकोमा ओलीलाई धन्यवाद समेत दिएका छन्।जे होस्, ओली विभिन्न समसामयिक विषयवस्तुमा निकै चासो राख्ने गर्छन्। उनको यो बानी निकै राम्रो छ।















