Sur Cinema

फ्राइडे रिलिज : हलमा ‘परदेशी २’ र ‘कौसीद’

काठमाडौं : आज शुक्रबारबाट हलमा दुई नेपाली सिनेमाहरु एकसाथ रिलिज भएका छन्। नारायण रायमाझी निर्देशित सिनेमा ‘परदेशी २’ र कुमार भास्कर निर्देशित सिनेमा ‘कौसीद’ एकसाथ रिलिज भएका हुन्।

‘कौसीद’को तुलनामा ‘परदेशी २’लाई हलमा राम्रो शो दिइएको छ। त्यसो त, ‘कौसीद’ टिमले प्रचारप्रसार नै गरेन। शून्य प्रचारप्रसारमै ‘कैसीद’ रिलिजमा आएको हो। ‘परदेशी २’ टिमले चाहिँ प्रचारप्रसारमा कुनै कुराको पनि कमी राखेन।

‘परदेशी २’मा रमेश बिजीको कथा रहेको छ। यो सिनेमालाई राजेश बंसल र नारायण रायमाझीले निर्माण गरेका हुन्। प्रकाश सपूत, केकी अधिकारी, दिलिप रायमाझी, प्रशान्त तामाङ, वर्षा शिवाकोटी, रमा थपलिया लगायतका कलाकारहरुको अभिनय रहेको छ।

यता ‘कौसीद’मा भने नव विजय प्रकाश श्रेष्ठ र धिरजन थपलियाको कथा छ। केदार भुसाल यो सिनेमाका निर्माता हुन्। ऋचा शर्मा, भोलाराज सापकोटा, रुपेश दाहाल लगायतका कलाकारहरुको अभिनय यो सिनेमामा रहेको छ।

लाखौं लगानी गरेर पनि प्रचारप्रसारमा ‘कौसीद’ टिम नराम्रोसँग चुकेको छ। कतिपय दर्शकलाई त यो सिनमाको नाम नै थाहा छैन। यस्तो लापरबाही चाहिँ नगरेको भए हुने।