काठमाडौं : नेपाली उखान छ, ‘चिनी पनि धेर खायो भने तितो हुन्छ’ । तर हाम्रो नेपालमा कसैले एक मुठ्ठी चिनी चियामा हाल्यो भने आफ्नो बढप्पन देखाउन दुई मुठ्ठी हाल्ने चलन छ । सफलता र असफलताको कारण खोजी प्रयोग गर्ने भन्दा पनि सफलता प्राप्त भएको साधन खोजेर आफू पनि प्रयोग गर्ने चलन छ ।
अहिले नेपाली सिनेमेकरलाई दयाहाङ राई र मिरुना मगर “ट्रम्प कार्ड” भएका छन् । यी दुईलाई लिन सके आफ्नो सिनेमा यसै सफल भन्ने भ्रम परेको छ । हुन पनि यी दुईका सिनेमा लगातार सफल छन् । त्यसैले मेकरले कारण हैन कारक खोजेर पछि लागेका । यसकै परिणाम भनौ “रङ्गेली” र “लोकल हिरो” दुई सिनेमा एकै मितिमा आउने भएका छन् ।
दया र मिरुना अभिनित यी दुई सिनेमाका मेकर मिल्न सकेनन भने दुई लिड एक्टरले एकै दिन आफै संग जुध्न पर्ने अवस्था आउँछ । यसरी अन्य सिनेमा सुरक्षित भएको देखेर मेकर दया र मिरुनालाई सिनेमामा लिन चाहन्छन् । जसको कारण लगानी सुरक्षित हुन्छ भन्ने उनीहरुको बुझाई छ ।
सिनेमा राम्रो बनाउ भन्ने भन्दा पनि सिनेबजारमा जस्को चर्चा छ उ सङै जोडिएर सिनेमा बनाउ भन्ने धेरै मेकरको धारणा देखिन्छ ।