काठमाडौं : यहीँ आउँदो शुक्रबारदेखि सिनेमा ‘परदेशी २’ र ‘कौसीद’ लाग्दैछन् । पहिला यही मितिमा ‘परदेशी २’ र अर्को सिनेमा पशुपति प्रसाद २-भष्मे डन’ एक साथ लाग्ने कुरा थियो । तर पटकपटकको छलफलपछि ‘परदेशी २’ असोज २६ र ‘भष्मे डन’ कार्तिक ४ गतेबाट लाग्ने निर्णय भएको थियो । तर अब रिलिज नजिकिँदै गर्दा भने उक्त टिमले ‘परदेशी २’ माथि थिचोमिचो गरेको होकि भन्न यदाकदा शंका गर्न थालिएको छ।
आखिर किन यस्तो शंका ‘भष्मे डन’ टिममाथि गरियो त ? भन्ने प्रश्नको सिधा जवाफ हो ‘परदेशी २’ले मंगलबार बुकिङ खुल्ला गर्दा ‘भष्मे डन’ले पनि सोही दिन बुकिङ खुल्ला गर्नु। चर्चित कविताको हरफ ‘ मै खाऊँ मैँ लाऊ, सुख सयल मोझ मैँ गरु’ भनेझै रिलिजको १२ दिन अगावै ‘भष्मे डन’ टिमले बुकिङ खुल्ला गरेको छ । काठमाडौंको चुच्चेपाटीमा रहेको एफक्यूब हलले उक्त सिनेमाको शोज २ साता अगाडि नै खुलाएको हो ।
एफक्यूबले यो सिनेमालाई शनिबार मात्र ६ शोज उपलब्ध गराएको छ । रिलिजको २ साता अगाडि नै बुकिङ खोलेर २६ गतेबाट लाग्ने सिनेमामाथि यो टिमले अन्याय गरेको कुरा यतिबेला सिनेवृत्तमा चल्न थालेको छ। सिनेमा क्षेत्रका केही व्यक्तिहरुले पनि ‘परदेशी २’ माथि अन्याय भएको होकि ? भनेर शंका गरेका छन्।
‘पहिला जुधेर होइन, जुटेर अघि बढ्ने हो’- भनेर सहमति गरेर अहिले रिलिजको संघारमा आएर ‘परदेशी २’ले बुकिङ खुल्ला गरेकै दिनमा ‘भष्मे डन’ टिमले पनि बुकिङ खुल्ला गर्नुले भित्रभित्रै जुध्ने मनसाय रहेको आँकलन गर्न सकिन्छ। होइन भने मंगलबार नै ‘भष्मे डन’ले बुकिङ खुल्ला गर्नु जायज कुरा भने होइन।
‘भष्मे डन’को क्रेजलाई लिएर सकारात्मक चर्चा त छँदैछ। तर आफू मात्रै बाँचौ भन्ने मनसायले मंगलबार नै बुकिङ खुल्ला गरेर ‘परदेशी २’ माथि ‘भष्मे डन’ ले थिचोमिचो त गरेको होइन कतै ? यो आरोप यतिबेला ‘भष्मे डन’लाई लाग्न सुरु भएको छ।