Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

मोफसलमा दर्शक फकाउदै ‘परदेशी २’ टिम

काठमाडौं ।  आगामी असोज २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नारायण रायमाझी निर्देशित सिनेमा ‘परदेशी २’ टिम अहिले मोफसल दौडमा छ । आफ्नो सिनेमा लक्षित समुहका दर्शकलाई हलसम्म तान्ने प्रयास स्वरुप काठमाडौंको कलेजपछि अहिले नारायणगढ पुगेको हो । त्यहाँका विभिन्न कलेजमा पुगेर निर्माण टिमले दर्शक फकाइरहेको छ ।

सिनेमा युवापुस्तामा बढ्दो बिदेश मोहको कथामा आधारित छ । स्वभाविक रुपमा यसको लक्षित वर्ग कलेजका विद्यार्थीहरु हुन् । सिनेमाको टिमले पनि प्रचारका लागि कलेज नै रोजेको छ । सिनेमाको कथा बुझाउन नाटक समेत तयार गरिएको छ । त्यही नाटक लिएर काठमाडौंपछि सिनेमाको टिम यतिबेला मोफसल दौडाहामा पुगेको हो । असोज १२ गतेसम्म पश्चिम नेपालका विभिन्न शहरहरुमा सिनेमाको मोफसल टुर जारी रहने छ ।

बिहीबार र शुक्रबार नारायणगढका केही कलेजमा नाटक देखाउँदै निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारीले त्यहाँका विद्यार्थीहरुलाई परिवार सहित सिनेमा हेर्न निम्तो दिए । अब बुटवल, नेपालगञ्ज र पोखरामा यही शैली अपनाइने छ ।

सिनेमाका निर्देशक रायमाझीले ‘परदेशी र परदेशी २’को कथा भन्ने शैली एकै भएता पनि कथावस्तु बिल्कुलै फरक रहेको दाबी गरेका छन् । कथाले हरेक उच्च शिक्षाका लागि परदेशीने नेपालीको बिदेश भोगाईलाई दुरुस्तै कथामा उतारेको निर्देशक रायमाझीको भनाई छ । गीतसंगीतलाई सिनेमा जसरी छनक दिने गायक तथा संगीतकार एवम् ‘परदेशी २’ बाट पहिलो पटक सिनेमामा पाइला चालेका प्रकाश सपुतले कथा भन्ने शैली र कथावस्तु अत्यन्तै सरल रुपमा जोडिएको जानकारी दिए ।

उनले अगाडी भने-‘गीतसंगीत गर्नु र सिनेमा गर्नु बिल्कुलै फरक रहेको ‘परदेशी २’ मा जोडिँदा चुनौती नै मोलेर सिनेमामा आवद्ध भएपनि निर्देशक नारायण सर र म गीतसंगीत कै भएकाले काम गर्न त्यति असहज भएन् ।’ फिल्ममा एउटा बिदेशीने विद्यार्थीको भूमिकामा देखिए भन्दै परदेश हुदाँ घर, साथी, पढाईसँगै काममा हुने भोगाइ र यादहरुलाई चित्रण गरिएको जानकारी उनले दिए ।

अभिनेत्री केकी अधिकारीले सिनेमाको सबैभन्दा बलियो पक्ष भनेको गीत र कथा नै रहेको बताइन् । सिनेमामा एकजना परदेशी हुँदा उसको परिवार त सधैँ उसको पर्खाइमा रहने भयो तर उसँग जोडिएको उसको प्रेमलाई पनि सिनेमामा देखाएको छ । अनि कुनै पनि काम मन लगाएर गरेको खण्डमा देशमै सुन फल्छ भन्ने मूलमर्म सिनेमाले बोकेको उनले भनिन् ।

अभिनेता प्रशान्त तामाङ अभिनीत २०७२ सालमा रिलिज भएको सिनेमा ‘परदेशी’ सुपरहिट भएको थियो । यसपटक पनि उनी सिनेमामा बिशेष भूमिकामा देखिने छन् । एकातिर यो सिनेमालाई अघिल्लो श्रृंखलाको खास जोगाउनुपर्ने चुनौती छ भने अर्कोतिर प्रकाशलाई गायक हिरोको रुपमा सफल हुनुपर्ने चुनौती छ ।

नीर शाह, दीलिप रायमाझी, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु लगायतको अभिनय रहेको सिनेमा नारायण रायमाझी र राजेश बंशलले संयुक्त रुपमा निर्माण गरेका हुन् । सिनेमामा गीतकार रमेश विजीको कथा लेखन, मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन रहेको छ ।

दुई दिने नारायणगढ यात्रा सकेर ‘परदेशी २’ टिम भोली नेपालगञ्ज पुग्दै छ । शनिबार त्यहाँका विभिन्न हल र कलेज पुगेर सिनेमाको टिमले दर्शक भेटघाट तथा प्रचारका विभिन्न कार्यक्रममा सहभागी हुने छ ।