Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘दमिनी भीर’ ‘शिल्पी समुदाय’ भित्रको एक जवान दमिनीको कथा

कुमार बिनोद पौड्याल
काठमाडौं ।  उपन्यासकार राजन मुकारुङद्वारा लिखित २०६९ सालमा मदन पुरस्कार बिजेता उपन्यास “दमिनी भीर” नाटक अहिले मण्डला नाटकघर थापागाउँमा मञ्चन भै रहेको छ । राजन मुकारुङ द्वारा लिखित यस उपन्यासलाई निर्देशक इँगीहोपो कोइँच सुनुवारले नाटकको रुपमा रुपान्तरण गरेका छन्।

यो नाटकले  समुदायको ” शिल्पी समुदाय ” भित्रको एक जवान दमिनी थरकी महिला र कथित उच्च जातिको सम्बन्धलाई चित्रण गरेको रहेछ। यो नाटक हेरेर के प्रष्ट हुन्छ हाम्रो समाजमा जातमा हैन हाम्रो आफ्नो सोचमा नै समस्या छ।पहिला हामीले  त्यो सोच बदल्न जरुरी छ  र यदि साच्चै नै यो सोच हामीले बदल्न सक्यौं भने यहाँ कुनै पनि जात-जातिमा कुनै समस्या छैन भन्ने सन्देश यो नाटकले प्रवाह गर्दछ ।

नेपाली नाटक बनाउनु भनेको नेपाली मौलिकतासहितको विषय उठान गर्नु हो । नेपाली संस्कृति र विचारधारालाई अघि सार्नु हो । सौन्दर्यबोध र चेतनाका अर्थमा रैथाने जीवन, कला र समुदायहरूको मनोविज्ञान ज्ञान गर्नु हो । संगीतको लय पछ्याउँदा होस् या शब्द–संवादलाई उकेरा लाउँदा नै किन नहोस्, रैथाने पारा समातिहाल्नु पर्छ । एउटा भूगोलका समुदायले स्थापित गरेका मान्यताहरूलाई अरूमा साक्षात्कार गराउनु पनि हो । सबै खाले उपनिवेशविरुध्द उभिनु हो । जरा खोज्ने अभियानमा समाहित हुनु हो । यति सोचका साथ “दमिनी भीर” उपन्यासलाई “नाटक” बनाइएको हो । कथाहरू, पात्रहरू त उपन्यासमा बेस्सरी छन् । यहाँ भने जात व्यवस्थाले थिचिरहेको नेपाली समाजको चित्रलाई देखाउने निधो गरिएको छ । उत्पीडनको किसिमलाई नाटक कलाबाट भन्ने कोसिस गरिएको छ । शालीन पाराले उत्पीडकहरूविरुध्द जाइलाग्ने तौर अपनाइएको छ ।

निर्देशक इँगीहोपो कोइँच सुनुवार भन्छन् ” उँधो लाग्ने उँधौलीलाई उँभो लाग्न उँभौलीले डाकेजस्तो हो कि भन्ने लाग्दैछ यसपटकको यो नाटक यात्रा । सिकाइको पालुवा पलाउने क्रम जारी नै छ । राजन मुकारुङ दाजुले यो सर्वप्रिय उपन्यास मेरो काँधमा विश्वासका साथ राखिदिनु आफैमा सौभाग्य अनि चुनौतीको भीर थियो । यो भीर थाम्ने बल गरेँ । नाटक निर्देशनमा यो मेरो प्रयास हो । जसरी उपन्यासले एउटा कालखण्ड, समस्या र सवाल बाकेको छ, त्यो समस्यामाथिको सवाल आज पनि उत्तिकै सान्दर्भिक भएको हुँदा यो नाटक गर्नुपर्छ भनेर आँट गरियो । “

आफ्नो पहिलो निर्देशकीय पारी खेलिरहेका निर्देशक इँगीहोपोलाई सफलताको मुरीमुरी शुभकामना।