सुमित कार्की
काठमाडौं । सिने निर्देशक तथा निर्माता नवल खड्का चलचित्र निर्माता संघको अध्यक्ष हुन् । पेशागत हकहितदेखि सिने पूर्वाधार निर्माणसम्मका मुद्दा उठाएर उनी अध्यक्षमा निर्वाचित भए ।
कलाकार संघको समेत अध्यक्ष रहिसकेका खड्काले विदेशी सिनेमाले नेपाली संस्कृतिमा असर पारेको तर्क गर्दै तिनीहरुको बजारलाई हतोत्साही गर्न कर वृद्धि गर्ने एजेन्डा राखेका थिए । तर उनका एजेन्डा ३० बुँदे योजनापत्रमा मात्रै सिमित रह्यो । आफ्नै सिनेमा ‘काँडेतार’ सेन्सर नहुँदा मिडिया स्टन्ट गर्न बाध्य बनेका खड्काले अन्य निर्माताको समस्या समाधान गर्न कत्तिको योगदान पुर्याउलान् ? यो सोचनीय विषय रही आएको थियो ।
त्यसैबिच, झरना थापा निर्देशित सिनेमा ‘एक भगवत् गीता’को शीर्षकलाई लिएर विवाद चर्कियो । चलचित्र विकास बोर्डले सेन्सर सिफारिस गर्न अस्वीकार गर्यो । भदौ २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको प्रचारमा जुट्नुपर्ने बेला निर्माता र सिनेमा युनिट विवाद मिलाउन विकास बोर्ड कुदिरहे । अझ निर्देशक थापाले मध्यरातमा फेसबुकमा भावुक स्टाटस लेखिन्, ‘आफ्ना सारा स्रोत सम्पत्ति, सपना र अहिलेसम्मको चलचित्रकर्मको लगानी गरेर बनाइएको चलचित्र यसरी चल्नै नदिने अवस्था आउँदा मर्नु न बाँच्नुको पीडा भइरहेको छ ।’
तर यस विषयमा न विकास बोर्डका अध्यक्ष भुवन केसी खुलेर बोल्न सके, न त निर्माता संघका अध्यक्ष नवल खड्काले झरनालाई कुनै सहयोग गरेको देखियो ।
नेपाल र भारतबीचको सम्बन्धमा असर पुग्ने भन्दै सेन्सर बोर्डले नवलको सिनेमा ‘काँडेतार’लाई पास गर्न मानेको थिएन । त्यसबेला नवलले सार्वजनिक कार्यक्रममा विकास बोर्ड र सेन्सर बोर्ड लक्षित धेरै टिप्पणी गरेका थिए । साथै उनले आफ्नो सिनेमाको कुनै पनि दृश्य नकाटीकन प्रदर्शन गर्न नदिए सेन्सर बोर्ड विरुद्ध अदालत जाने घोषणा गरेका थिए ।
अन्ततः लामो विवाद पछि सेन्सर बोर्डले अभिभावकको निगरानीमा सबैदर्शकले सिनेमा हेर्न मिल्ने गरि पीजी प्रमाणपत्र प्रदान गर्यो । तर यति धेरै रस्साकस्सी गर्न जरुरी थियो होला र ? अन्त्यमा, सेन्सर बोर्डले भनेजस्तै गर्नुपर्यो । त्यसो भए के त्यो स्टन्ट मात्रै थियो ? विभिन्न प्रश्नको जवाफमा नवल भन्छन्, ‘मैले स्टन्ट गरेको होइन र कसैलाई गाली पनि गरेको छैन् । त्यसलाई स्टन्ट भन्दापनि गुनासो राखेको भनिन्छ । निर्माता संघको अध्यक्ष भएर मात्र पनि केही गर्न नसकिने रहेछ । सिनेमा काँडेतारको विवाद बढेपछि मात्र बोर्डले मेरो कुरा सुन्यो । तर सेन्सर बोर्डले मेरो सिनेमाको धेरैमा एक प्रतिशत दृश्य काटेको छ । त्यो पनि मैले बोर्डको चित्त बुझाइदिनका लागि मात्र काट्न दिएको हुँ । होइन भने म अदालत जाने तयारीमा थिए ।’
आफूले विकास बोर्ड र सेन्सर बोर्डबाट पाएको दु:ख अन्य निर्माताले भोग्न नपरोस् भनेर नवलले अहिले सम्म कुनै पहल गरेका छैनन् । मिडियामा ‘गफ’ दिन बाहेक । निर्माता संघको अध्यक्ष भएता पनि नवलले सुनिल कुमार थापाको प्रोडक्सनमा निर्माण भएको सिनेमा ‘एक भगवत् गीता’लाई केही सहयोग गरेको देखिएन । यस सिनेमाको नाम तीन पटक (भागवद् गीता, भगवत् गीता, एक भगवत् गीता) परिवर्तन भए पनि नवल खड्काको ध्यान गएन । निर्माता सुनिल थापा रोएर गुहार्दा सम्म नवलले एक विज्ञप्ती निकाल्नेसमेत चेष्टा गरेनन् । तर शीर्षक परिवर्तन गर्ने सहमति भएको कार्यक्रममा निर्माता संघको अध्यक्षको हैसियतमा नवल उपस्थित भए ।
‘निर्माता संघमा निवेदन परेको भए केही गर्थे । तर पीडित निर्माताले नै वास्ता नगरेपछि म के गर्न सक्छु?’ नवलले भने,‘तेस्रो पटक सिनेमाको नाम परिवर्तन भइरहेका बेला म झापा गएको थिएँ । तर अन्त्यमा मैले सिनेमाको विवाद अन्त्य गर्न प्रमुख भूमिका खेलेको छु । कसैले निर्माता संघलाई मद्दत माग्दा हामीले कहिल्यै असहयोग गरेका छैनौं। सुदर्शन थापा, सुभाष थापा लगायत धेरैका विवाद र समस्या समाधान गरेका छौं । र मैले अध्यक्ष हुनु अघि गरेको वाचा बिर्सेको छैन, पहल गरिरहेको छु ।’
चलचित्र विकास बोर्डको मध्यस्थतामा भएको सहमतिअनुसार सिनेमाको नाम ‘एक भागवत् र एक गीता (सामाजिक कथा)’ तय गरिएको छ । उक्त कार्यक्रममा नवलले सिनेमा ‘एक भागवत् र एक गीता’ले प्रचारप्रसार गर्ने समय नपाएको बताएका छन् । तर मिडिया स्टन्ट गर्न माहिर नवलले निर्देशक झरना थापाको ‘मार्केटिङ’ रणनीति नबुझेर यसो भनेका हुन् कि समस्याको विषयलाई स्टन्टमा परिणत गरेको स्वीकार गर्न नखोजेका हुन् ? सुनिल थापाका यसअघिका सिनेमाहरु रिलिजको समय नजिकिँदै गर्दा निर्देशक झरना थापाले दिएको विवादास्पद अन्तर्वार्ता र अभिव्यक्तिबाट उनको रणनीति स्पष्ट हुन्छ ।
अभिनेत्री पूजा शर्मालाई रोएर सिनेमा चलाएको आरोप लगाउने निर्माता संघका अध्यक्ष नवल खड्काले आफूले मिडिया स्टन्ट गर्न बाध्य भएको कुरा मान्न तयार छैनन् । अभिनेता प्रदीप खड्कालाई लक्षित गर्दै ‘चितुवाले खायो’ लेख्न सक्ने झरना अहिले मध्यरातमा एक्लो भएको भन्दै स्टाटस लेख्छिन् । सायद यसैलाई ‘कर्मा’ भनिन्छ ।