कुमार बिनोद पौड्याल
काठमाडौं । हक्की निर्माताको रुपमा परिचित कृषा चौलागाईले पहिलो पटक ‘ऐँचो पैँचो’ सिनेमा मार्फत निर्देशनकाे बागडोर सम्हालेकी छिन्। यस अघि उनले निर्माण गरेका सिनेमाहरुमा इन्साफ, कसम हजुरको, के म तिम्रो साथी बन्न सक्छु, पलाँस लगायत सिनेमा छन ।
सिनेमाको फर्स्ट हाफ रियालिस्टिक कम व्यङ्ग्यात्मक बढी देखिन्छ तर राजनीतिक विषयमा मुख्य कलाकारहरुले बोल्ने संवाद (डाइलग) ‘जे बल्छ त्यही ताप्ने हो’ .. ‘राजनीति यस्तो पेशा हो जहाँ गरिबको लागि लड्दा लड्दै धनी भएको थाहा नै हुदैन’ … ‘भुक्न र झुक्न जान्नु पर्छ’ लगायतका गज्जब सवांद छन ।
मुकुन भुषाल र स्वस्तिमा खड्काको भेट हुदा मिठो ब्याकग्राउण्ड म्युजिक सुन्न पाइन्छ तर सुशील र वर्षाको देखभेट हुदा भने सुमधुर संगीत कतै हराउँछ ।
सिनेमामा गीतहरु राम्रा छन , सुमधुर छन्, क्याची छन्। तर ” काले केटा” भन्ने गीतलाई अनावश्यक रुपमा सिनेमामा राखिएको भान हुन्छ। त्यो सिचुएसनमा गीतको कुनै जरूरत देखिँदैन। यो गीतलाई पोस्ट क्रेडिटमा राखेको भए अझ राम्रो हुन्थ्यो भन्ने महसुस धेरैलाई लाग्न सक्छ । सिनेमामा अचानक गीत आइदिएको भान हुन्छ । त्यस्तै सिनेमाका प्राय दृश्य अचानक आइदिने भएकाले पनि जनरा अनुसार सिनेमाको स्टोरी ब्यालेन्समा नभएको होकि भन्ने महसुस हुन्छ।
सिनेमामा लभ-इमोसन पनि जोड्न खोजिएको छ तर त्यो इमोशन महसुस नै गर्न सकिदैन । मध्यान्तर पछि आउने सुशिल सिटौलाको डाइलग ‘जे तैले पाइस त्यो कसैको सपना थियो होला’ अत्ति नै मीठो छ । यस्ता केही डाइलग छन जस्ले सिनेमालाई हेर्न लायक बनाइदिएको छ ।
सिनेमामा सुरुमा क्यारेक्टरको इमोसनसंग जोडिन निकै समय लाग्छ तर जब बिस्तारै जोडिदै गइन्छ त्यो बेला सम्म कहानी अन्तै कतै मोडिईसकेको हुन्छ। इन्टरभलमा समेत क्यारेक्टरसंग कनेक्ट हुन हम्मे हम्मे पर्छ ।
प्राय सिनेमामा झै यसमा पनि दर्शकलाई इमोसनल बनाउन वैदेशिक रोजगारीमा गएको पात्रको मृत्यु देखाइन्छ। के यस्ता पात्रको मृत्यु नभइ एक सफल व्यक्ति भएको र आमाको चाहना पूरा गरेको देखाउन मिल्दैन? के कोही पनि बैदेशिक रोजगारीमा गएकाहरु सफल नै भएका छैनन त? किन हरेक सिनेमामा बैदेशिक रोजगारीमा गएका व्यक्तिको मृत्यु नै भएको देखाइन्छ ?
यस्तै , सिनेमामा कोसिस क्षेत्री र मुकुन भुसाल बिचको द्वन्दको अभाव महसुस हुन्छ । भन्नलाई सिनेमा पोलिटिकल ड्रामा जनरामा बनेको भनिएकोमा यहाँ पोलिटिकल इस्यु भन्दा बढी पोलिटिकल कुरा मात्र देखाइइएको छ । दुई नेता बिचको टकराव र जनताको समस्या पूर्णतया गायब छन् । जसरी मुकुनले कोसिसलाई ” लास माथी राजनिती गर्ने तिमीहरु जिउदो लास हौ ” भनेर भने त्यो दृश्यमा पनि लास माथीको राजनिती कसरी भइरहेको थियो? त्यो भाग अपूर्ण छ। विदेश जानू पर्ने बाध्यता किन आईलाग्यो ? राजनिती कारण किन बन्यो ? यस्ता कुरा देखाइनु पर्नेमा अरु नै कारण देखाइएको छ र सिनेमाको लय बदलिन पुगेको छ ।
सिनेमामा राजनीति र प्रेममा कुन मेन प्लट हो र कुन सब प्लट भन्ने नै कन्फ्युजन हुन्छ। पटकथा कमजोर भएकोले गर्दा ” जाना था जापान , पहुंच गए चीन” जस्तो महसुस हुन्छ । यसको लागि पटकथाकार पूर्णतया जिम्मेवार छन्। त्यस्तै सिनेमाको अर्को समस्या भनेको मिक्सिङ पनि हो । यसमा प्रसस्त समस्या देखिन्छन्। ध्वनीहरु अनावश्यक र अत्याधिकरुपमा लाउड लाग्छन्।
अभिनयको कुरा गर्ने हो भने सुशील , बर्षा , स्वस्तिमा र मुकुन् उत्कृष्ट छन् । कोशिश क्षेत्री पर्व, परस्त्री सिनेमामा देखिए जस्तै नै देखिएकाछन । जबकि यो चरित्रलाई अझ परिष्कृत रुपमा लैजान जरुरी थियो । मूकुन जस्तो स्किल्ड कलाकारलाई हिरो नबनाइकन ” दिलेन्द्रको ” पात्रमै जीवित राखेको भये सुनमा सुगन्ध हुने थियो। तर त्यसो भएन ।
सिनेमामा यति धेरै समस्या हुँदाहुँदै पनि निर्देशकको रुपमा कृषा चौलागाईंले गरेको अथक मेहनत र प्रयासले गर्दा सिनेमा हेर्दा भने तपाईंलाई एउटा छुट्टै आनन्द आउँछ। रमाइलो महसुस हुन्छ। आशा अनि विश्वास छ, निर्देशक कृषाले आगामी सिनेमामा आफूलाई अझ परिष्कृत बनाएर लैजानेछिन्।

सिनेमाको मुख्य कलाकारहरुमा वर्षा राउत, स्वस्तिमा खड्का, कोशिश क्षेत्री, मुकुन भुसाल, विशाल पहाडी, राजाराम पौडेल, रवीन्द्र झा, बुद्धि तामाङ , रमेश बुढाथोकी, शारदा गिरी, सरिता गिरी लगायत रहेका छन्।
त्यस्तै सिनेमाको संगीत आशिष अविरल र केतन क्षेत्री, साउण्ड डिजाइनमा मुकेश शाह, ब्याकग्राउण्ड म्युजिक सुजील कर्माचार्य , एडिटिङ्गमा विपिन मल्ल र भूपेन्द्र कार्की, नृत्य निर्देशक कविराज गहतराज, डि ओ पि पुरुषोत्तम प्रधान अनि स्क्रिप्टमा अभिमन्यु निरवी रहेका छन्।
(पौडेल नेपाली तथा बिदेशी सिनेमा हेरेर प्रतिकृया दिदै आएका ब्यक्ति हुन । केही सिनेमामा समेत अभिनय गरेका उनी सिनेजगतका बिषयमा बोल्दै गर्दा सहीलाई सही र गलतलाई गलत भन्ने ब्यक्तीको रुपमा परिचित छन । )