Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

अल्पकालीन योगदानलाई विकास बोर्डको दीर्घकालीन सम्मान

काठमाडौँ । केही सिनेमामा लगानी गरेको जनाउँदै तत्कालीन सञ्चार मन्त्री राज किशोर यादवका दया भावले धर्मेन्द्र मरवेत्ता ‘चलचित्र विकास बोर्ड’को तत्कालीन अध्यक्षमा नियुक्त भए। उनको नियुक्ति भए लगत्तै सिनेमा क्षेत्रमा योगदान दिने कयौँ अग्रज र योग्य सिनेकर्मीहरूले असन्तुष्टि जनाए। यसको विरोधमा रिले अनसन समेर बस्नेसम्मका काम भए ।

उनी भन्दा योग्य अरू थिएनन् र सिनेमा क्षेत्रमा योगदान दिने ? भन्दै सिनेकर्मीहरुको आक्रोश उर्लियो। जसको नेतृत्व निर्देशक विमल पौडेल र सुरेश दर्पण पोख्रेल लगायतले गरेका थिए । सहयोगीहरू अरू-अरू पनि थिए। तर कति त मौका कुरेर पनि बसेका थिए भन्ने गाइगुइ पनि सुनिन्थ्यो उ बेला । तीन दिनको रिले अनसनपछि आन्दोलन यसै सेलाएर गयो ।

लगभग १५ /१६ जनाको पालो सकिएपछि आन्दोलन यसै तुहिएको थियो । जसको हेक्का अनसनमा बस्नेलाई समेत भएन । आन्दोलन किन र कसरी मत्थर भयो भन्ने पनि कसैलाई थाहै भएन। खै नेतृत्वलाई मरवेत्ताले के अमृत पिलाएका थिए कुन्नि । अघिल्लो दिनसम्म उग्र बनेको आन्दोलन भोलिपल्ट नेतृत्व र आन्दोलनकारी भनिएकाहरू मन्त्री र मरवेत्तासङ्ग कम्मर भाँची-भाँची नाचिरहेका देखिन्थे। फलतः धर्मेन्द्र मरवेत्ताले नै चलचित्र विकास बोर्डको नेतृत्व सम्हाले।

नेपाली सिनेमा इतिहासमा विकास बोर्ड नेतृत्वप्रति असन्तुष्टि जनाएको उच्च ग्राफ त्यही मात्र थियो । त्यस अघिका र पछिका नेतृत्वप्रति छुटपुट असन्तुष्टि त देखियो तर खासै महत्वमा आएन । आउने जाने औपचारिकतामा मात्रै सीमित रह्यो । स्थापना कालका केही नेतृत्व बाहेक बाकी सबैमा राजनीतिक हालिमुहाली बढ्दै गयो र मन परेका र आफ्ना खासलाई टीका लगाउँदै बोर्डमा भित्र्याउने क्रमले तीव्रता पायो । जसको निरन्तरता अझै देखिन्छ । न कसैलाई बोर्ड प्रति आशा थियो न अपेक्षा । सायद त्यही कारण हुन पर्छ पछिल्लो समयमा बोर्डप्रतिको विश्वासको ग्राफ माइनसमा देखिन्छ ।

हाल बोर्डको नेतृत्व निर्माता तथा कलाकार भुवन केसीले सम्हाली रहेका छन्। सबैलाई मात खुवाउने विवादका सारथी यो बेला बोर्ड अध्यक्ष भुवन केसी बनेका छन्। लगातार उनी र उनको नेतृत्व, बिबादमा तानी रहेका शृङ्खलाहरू आइ रहेको पाइन्छ । प्रेम गीत ३ू सङ्ग भनेर निर्माण गरेको प्रदर्शन नीति होस या दुबईमा आयोजना भएको कार्यक्रम विवाद, बोर्डको वार्षिक उत्सवमा भाग लगाइएको सम्मान पत्र कै कारणले पनि बोर्ड विवादमा तानिरह्यो। पछिल्लो शृङ्खला, राष्ट्रपति कार्यालयमा आयोजना हुन लागेको वार्षिक कार्यक्रमलाई लिएर चौतर्फी आलोचना भई रहेको छ।

दीर्घ सम्मान र विशेष सम्मान प्रदान गरिने उक्त कार्यक्रमको उद्देश्य नेपाली सिनेमा क्षेत्रमा अनवरत उल्लेख्य योगदान दिएकालाई सम्मान गरिने भनेर भनिएको छ। तर देश बाहिर बसेका र बामे सर्न खोज्ने तर नजान्ने लाई पनि सम्मानको हकदार बनाउँदा भोक प्यास नभनी लगातार आफ्नो कामलाई अब्बल बनाउन तल्लीन सिनेकर्मीहरुलाई गिज्याएका कारण त्यो विवाद बल्झिएको बुझिएको छ ।

आफ्नो फेरो समाएर अघि पछि घुम्ने र कुनै बेला आफूलाई सहयोग गर्नेलाई पनि राष्ट्रपतिको हातबाट चलचित्र सम्मान दिन लागेको भन्दै असन्तुष्टिका आवाज उठिरहेका बेला विवाद र अध्यक्ष एक अर्काका पर्यायवाची हुन् भन्ने सग्लो उदाहरण बनेको छ भुवन केसीको कार्यकाल । केही अपवाद बाहेक चलचित्र क्षेत्रबाटै आलोचना खेपी रहेको उक्त राष्ट्रिय सिने कार्यक्रमबाट समयमै विवादित नामहरू सच्याउँदा केही सङ्लिने ठाउँहरू छन् ।

तर यस्ता विवादहरुले उनीलाई कत्तीको छुने गर्छ त्यो उनी आफै जानुन् । किन पनि भने उक्त कार्यक्रममा जति पनि अँध्यारा पक्षहरू छन् , केही उज्याला पक्षहरू पनि छन्। युगौँ देखि रङ्गमञ्च र सिनेमा क्षेत्रमा लगातार योगदान दिँदै आएकी अग्रज कलाकार लक्ष्मी गिरि, त्यस्तै शिव श्रेष्ठलाई दीर्घ सम्मान दिइदैछ। तर विवादित नामहरू नझिकेसम्म विकास बोर्डले आयोजना गर्न लागेको कार्यक्रम भने चोखिने वाला छैन ।