Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘बहाव’ को पहिलो गीत ‘यो मनरोग’

काठमाडौं । 
अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालको मुख्य भूमिका रहेको सिनेमा ‘बहाव’ को पहिलो गीत ‘यो मनरोग’ सार्वजनिक गरिएको छ । गीतमा सज्जा चौलागाईंको स्वर, सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत र रिकेश गुरुङको म्युजिक प्रोडक्सन छ ।

गीत प्रमुख पात्र सुरक्षा को वरपर घुमेको छ । उनलाई गीतको भाव अनुसार प्रस्तुत गरिएको छ । गीतको दृश्य पृष्ठभूमिमा पानीको बहावलाई राखिएको छ । गीतमा सुरक्षालाई रोमान्टिक, गम्भीर र पागलपन शैलीमा प्रस्तुत गरिएको छ ।

सिनेमामा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । निर्देशक कँडेलले गीतमा देखाइएको पानीको बहावजस्तै कथाले पनि प्रमुख पात्र सुरक्षाको जीवनमा आउने बहावलाई देखाएको बताए । ‘बहाव नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह हो । यसमा सुरक्षा र कमलमणिबीचको अन्तरद्वन्द पछिको विद्रोहलाई सुरक्षामार्फत देखाउने प्रयास गरेका छौं’, उनले भने ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको सिनेमा आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ । सिनेमाको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित छ ।

सिनेमाका निर्माता श्रीधर पौडेल हुन् । उनले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए । पौडेलले आफ्नो स्वन्त्रता आफैमा कैद गर्नेहरुका लागि मार्गप्रशस्त गर्ने कथा ‘बहाव’मा रहेको जनाए ।

सिनेमामा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । उक्त सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।