Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक

काठमाडौं ।
यही चैत १७ गते बाट रिलिज हुने सिनेमा ‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक भएको छ । गीतमा रिकेश गुरुङ र सुबानी मोक्तानको स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द तथा सुशान्तकै सङ्गीत छ ।

गीतमा सिनेमाका प्रमुख दुई पात्र शुभेक्षा खड्का र अरुण क्षेत्री फिचर्ड छन् । वसन्तपुर दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भू र बौद्ध जस्ता पर्यटकीय क्षेत्रमा छायाङ्कन गरिएको गीतमा शुभेक्षा र अरुणको टुसाउँदै गरेको प्रेमदेखि विकसित प्रेम देखाइएको छ । गीतमा अर्की अभिनेत्री सृष्टि श्रेष्ठको ‘सरप्राइज’ प्रवेश देखाइएको छ ।

अधिकांश प्रेमिल गीतमा कलाकारहरू सेटमा या डाँडाकाँडातिर नाँच्ने गरे पनि ‘प्रेमा’को यो गीत अन्य गीतभन्दा पृथक छ । गीतका अधिकांश दृश्यमा मठमन्दिरसँगै काठमाडौं उपत्यका समेटिएको छ । गीतमा कलाकार नाँचेको देखाइएको छैन । शुभेक्षा र अरुणलाई सिनेमाका लेखक तथा निर्देशक गोविन्द सिंह भण्डारीले शारीरिक हाउभाउ र आँखा–आँखाको हेराइमार्फत प्रेम अभिव्यक्त गराएका छन् ।

सिनेमामा शुभेक्षाले शीर्ष चरित्र ‘प्रेमा’को भूमिका निर्वाह गरेकी छन् । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको सिनेमा बाघठाटा सिने फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको हो ।

गीत बाघठाटा सिने फ्याक्ट्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको सिनेमामा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ ।

निर्देशक भण्डारीका अनुसार सिनेमाले त्रिकोणात्मक प्रेमकथा बोल्छ । सिनेमा गोविन्द सिंह भण्डारी र विवेक घिमिरेले निर्माण गरेका हुन् । सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको सिनेमामा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेल(WICA)को डीओपी छ । सिनेमालाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।