काठमाडौँ ।
चलचित्र विकास बोर्डको अध्यक्ष बनेका भुवन केसी मन्त्रालय धाउदैमा दिन बितिरहेको छ । बोर्ड समालेको महिनौ बितिसक्दा विवाद बाहेक केहि उपलब्धी नभएपछि बोर्डका सल्लाहकार रविन्द्र खड्का,नीर शाह लगायतले राजिनामा दिइसके । अधिकांशले बोर्डबाट राजिनामा दिएपछि अध्यक्ष केसीले सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा सिने क्षेत्रले विकासमा फड्को मार्न नसकेको दाबी गरेका छन् ।
उनले बिहीवार काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा भएको आयोजित ११ औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रममा आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको भन्दै आफ्नो बचाउ गरेका हुन् ।
उनले चलचित्र विकास बोर्ड नेपाली सिनेमाहरु अन्तर्राष्ट्रिय स्तरमा चलोस्, कला संस्कृति विश्वमा फैलियोस्, भाषा र चलचित्रको माध्यमबाट नेपाली पर्यटन क्षेत्रमा पनि टेवा पुगोस् भन्ने हेतुले आफु लागिपरिरहेको भन्दै रिटायर्ड हुने बेलामा जागिर खान बोर्ड गएको बताए ।
उनले भने,‘सिनेमा क्षेत्रकै विकासका लागि रिटायर्ड हुने बेलामा जागिर खान आएको छु । सिनेमा क्षेत्रमा केही गर्न सकुँ भनेर नै त्यहाँ गएको हुँ । अमेरिकामा गएर नेपाली सिनेमाको बारेमा कार्यक्रम गर्नु नै फलामको चिउरा चपाए सरह छ ।’
निकै नम्र देखिएका अध्यक्ष केसीले चलचित्र ऐन,२०२६ सालमा बनेको थियो त्यो अहिलेसम्म चलिरहेकाले नेपाली सिने क्षेत्रको विकास हुन नसकेको दाबी गरे ।
उनले अगाडी भने,‘नेपाली सिनेमा अहिलेसम्म विकास नहुनुको खास कारण चलचित्र ऐन, २०२६ सालमा बनेको थियो, अहिलेसम्म त्यही चलिरहेको छ । त्यसको संशोधन हुन नसक्नु हो । अब पनि यो ऐन पास भएन भने चलचित्र विकासले फड्को मार्न सक्दैन । सिनेमा विकास र प्रवद्र्धनको लागि मरिमेटेका छौँ ।’