Sur Cinema

Edit Content

ताजा अपडेट

‘सरी मम’, ट्रेलर रिलिजसँगै प्रदर्शन मिति हेरफेर

काठमाडौं
पारिवारिक कथामा निर्माण भएको सिनेमा ‘सरी मम’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमसहित निर्माण टिमले सिनेमाको ट्रेलर रिलिज गर्यो ।

एनएफआई कृयशनको ब्यानरमा निर्माण भएको सिनेमाले लागुऔषध दुर्व्यसनी विरुद्धको आवाज बोल्छ । सिनेमाको ट्रेलरमा पनि कुलतमा परेको एक किशोर र त्यसले उसको परिवार र जीवनमा ल्याउने उतारचढावको कथा जोडिएको छ । यो सिनेमा युवा तथा किशोरावस्था उमेर लक्षित छ ।

कार्यक्रममा बोल्दै मुख्य कलाकार सरिता लामिछानेले बर्षौदेखि पर्दापछाडि रहेर नेपाली सिनेमाको लागि क्रियाशिल प्राविधिकहरूको टिमले तयार गरेको सिनेमामा मेहनत र सन्देश जोडिएको बताइन् । साथी संगतले एउटा किशोर कुलतमा फस्दा त्यसले निम्त्याउने परिस्थितिलाई सिनेमाले बोकेको उनको भनाइ छ ।

निर्माता विनोद लामाले आँखा अगाडी परिरहने समाजको कथालाई टिपेर सिनेमा ‘सरी मम’ तयार गरेको बताए । कथा लेखक समेत रहेका लामाले सार्वजनिक प्रदर्शनीसँगै च्यारेटी प्रदर्शनीको माध्यमबाट समेत गरि लक्षित वर्गमा सिनेमा पुर्याउने र त्यसको लागि सबैको सहयोग आवश्यक रहेको बताए । नेपाली हलमा पर्ने हलिउड सिनेमा ‘अवतार’को प्रभावपछि सिनेमाको प्रदर्शन मंसिर २९ बाट सरेर अब माघ ५ लाई तोकिएको लामाले बताएका छन् ।

नविन बोगटीको निर्देशनमा बनेको सिनेमामा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल , प्रेविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् । यो सिनेमामा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको सिनेमाका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।

यो सिनेमाको निर्माण र प्रदर्शनीमा सहकार्य गर्दै शिक्षा र दुर्व्यसनी विरुद्धको यात्रामा जोडिएका संस्थाहरू नेपाल जेसिज, नार्कोनान नेपाल, प्याब्सन , एन-प्याब्स , हिसान , शिक्षक महासंघ लगायत निर्माण ब्यानरसँग जोडिएका छन् ।