Sur Cinema

Edit Content

ताजा अपडेट

डा.उपाध्यायका २५ गीतमा २५ सङ्गीतकर्मीको सङ्गीत

काठमाडौं,
गीत-सङ्गीत र साहित्यका विभिन्न विधामा गिनिज बुक अफ वल्र्ड रेकर्डसहित ११० विश्व रेकर्ड कायम गरिसक्नुभएका बहुआयामिक सर्जक डा.डीआर उपाध्यायले संगीत क्षेत्रमा पुनः विश्वमै नौलो काम गर्नुभएको छ । शनिबार राजधानीमा आयोजित एक समारोहमा डा.उपाध्यायद्वारा रचित एवं कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठद्वारा संगीतबद्ध २५ वटा फरक-फरक गीतको मेलोडी (धुन) २५ जना संगीतकर्मीले एकै थलोमा क्रमैसँग पालैपालो किबोर्डमा बजाएका छन् ।

यस प्रकारको प्रस्तुति विश्वमै नौलो र पहिलो भएको कीर्तिमानी गीतकार डा. उपाध्यायले जानकारी गाराउनुभयो । कार्यक्रम राष्ट्रवादी गीतकार एवं गीतकार संघ नेपालका निर्वतमान अध्यक्ष चूडामणि देवकोटाको प्रमुख आतिथ्यता र एभरेष्ट वल्र्ड रेकर्डका मधुरा श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

समारोहमा सन्तोष श्रेष्ठले ‘सन्तानको शिर उठाउन’, सागर अधिकारी ‘शरद’ले ‘तिलिचो ताल’, देवेन्द्र नेवाःले ‘तिम्रो एक झल्को नपाउँदा’, सूर्य दयालुले ‘स्वर्थी छ दुनियाँ’, प्रेम अर्यालले ‘उर्लिरहेका छन्’, धनेश परियारले ‘कुनै घुम्तीमा तिमीले’, नरहरि प्रेमीले ‘हावाले उडायो पछ्यौरी तिम्रो’, काव्य आचार्यले ‘स्वागत छ भाउजू हजुरलाई’, मञ्जु उपासनाले ‘मुटुभित्र मुटुको’, एच.बी. सुनारले ‘यो मुटु अर्कैसँग’, बेदु सारु मगरले ‘बत्तीस लक्षण भएकी’, तुलसी गिरी ‘भावुक’ले ‘समाजका हरेक कुरामा’, प्रकाश मिश्रले ‘हामी बादलभित्र’, प्रवीण बराइलीले ‘हाँसीहाँसी दिल चोरेर’, दिलिप लामाले ‘तिम्रो मेरो चोखो माया’, ज्योति प्रकाशले ‘कसम यो मात हो पिरतीको’, राज सागरले ‘तिमीले रोपेको विषालु काँडा’ र सुभाष श्रेष्ठ प्रधानले ‘सपनीमा आउँछ्यौ तिमी’ बोलका गीतको धुन किबोर्डमा बजाउनुभएको थियो ।

यसैगरी, दीपक चौलागाईंले ‘जान्न चाहन्छिन् ऊनी अचेल’, पुष्कर खत्रीले ‘जिन्दगीका हरेक रूप’, अशोक बरालले ‘झिमझिम परेली झिमझिम’, सतिस शाहले ‘तिम्रो हरेक चाहना’, सुरेन्द्र शाहीले ‘तिम्रो आँखाको नानीभित्र’, बीपी वाग्लेले ‘सगरमाथा हिमाल’ र तिलक भट्टराईले ‘दशैँ तिहार आयो’ बोलका गीतका धुन बजाउनु भएको थियो । यो प्रस्तुति निकट भविष्यमा विश्व रेकर्डका लागि प्रक्रियामा जाने बताइएको छ ।

कार्यक्रममा साहित्यकार तथा गीतकार डीआर राई, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, वरिष्ठ पत्रकार तुलसी गिरीले डा.उपाध्यायलाई नयाँ-नयाँ क्रियशनका लागि बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रमुख अतिथि देवकोटाले सर्जक उपाध्यायले आफ्ना सिर्जना श्रोता/दर्शकमाझ ल्याउदा सधैं अलग-अलग र पृथक तरिका अपानाउँदै सार्वजनिक गर्ने क्रममा यो फरक शैलीका लागि उहाँलाई बधाई तथा शुभकामना दिनुभयो । उहाँले भन्नुभयो, ‘विश्वका अन्य मुलुकका मानिसहरूको सोच पुग्न नसकेको ठाउँमा पनि डा.उपाध्यायले काम गरिरहनु भएको छ, डा.उपाध्यायले नेपाली गीतसंगीतको फाँटमा अझ धेरै सिर्जना पस्किन सक्नुहोस् शुभकामना दिन चाहन्छु ।’

कार्यक्रममा कीर्तिमानी गीतकार डा.उपाध्यायले आफूले आफ्ना सिर्जना हरेक समय फरक तरिकाले प्रस्तुत गर्ने र त्यसलाई सार्वजनिक पनि फरक तरिकाले गर्दै आएकोमा यो पटक पनि पृथक कार्य गरेको बताउनुभयो । उहाँले विश्वको आधा जनसंख्या भएका छिमेकी मुलकका साथै अन्य देशका मानिसको नजर नपुगेको कार्य आफूले गरेको दावी गर्नुभयो । कार्यक्रमको सहजीकरण पत्रकार कृष्ण भुसालले गर्नुभएको थियो ।

कीर्तिमानी डा.उपाध्यायका ३० एल्बमका सयौँ गीत श्रोता/दर्शकमाझ आएका छन् । यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ जस्ता १४ उपन्यास पाठकमाझ आएका छन् भने १५औं उपन्यास प्रकाशनको अन्तिम तयारीमा छ ।