३१ असोज २०७९
काठमाडौं: तिहार सकिए लगतै कात्तिक १८ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘मीलन’को सोमबार काठमाडौंमा एक कार्यक्रमका बिच प्रेम र बिछोडले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो ।
टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको यो चलचित्रको सार्वजनिक तीन मिनेट लामो ट्रेलर अभिनेता सलोन बस्नेत र कुशल शाह ठकुरीको अभिनेत्री शिल्पा थापासँगको प्रेम र बिछोडमा केन्द्रित छ । त्रिकोणात्मक प्रेम कथामा निर्माण गरिएको ‘मीलन’मा सलोन, कुशल र शिल्पासँगै सुमिन गुरुङ, शिशिर बाङ्ग्देल र बिशोल पहाडीको मुख्य भूमिका रहेको छ । यसै सिनेमाबाट अभिनेता कुशल र अभिनेत्री शिल्पाले डेब्यु गर्दैछन् ।
कार्यक्रममा अभिनेता सलोनले आफूले काम गरेका राम्रा र आफूलाई निकै मन परेको सिनेमाहरु मध्ये ‘मीलन’ पनि पर्ने बताए ।
नव अभिनेता कुशल शाह ठकुरीले आफूलाई विश्वास गरेर सिनेमामा काम गर्ने अवसर प्रदान गरेकोमा निर्माता प्रविन थापालाई धन्यवाद दिए । उनले आफूले ठुलो पर्दाका लागी पहिलो अनुभव भएको र धेरै कुरा सिक्ने मौका पाएको बताए । साथै नवअभिनेत्री शिल्पा थापाले पनि सिनेमा ‘मीलन’बाट धेरै कुरा सिक्ने मौका पाएको बताइन् । अर्का मुख्य कलाकार शिशिर बाङ्ग्देलले सिनेमाको अनुभव साटे । चलचित्रमा धेरै नयाँ कलाकार भएपनि सिनेमा निकै राम्रो बनेको उनले बताए ।
सिनेमाका निर्देशक टेक पौरखी राईले निर्देशन गरेको यो तेस्रो सिनेमा हो । यसअघि उनले ‘मट्टी माला’ र ‘माया पिरिम’ निर्देशन गरिसकेका छन् । निर्देशक राईले यसअघिका सिनेमा जस्तै ‘मीलन’लाई पनि सबैले माया गरिदिने विश्वास ब्यक्त गरे । साथै केहि समय अघि केहि बिशेष ब्यक्तिहरुलाई सिनेमा देखाएको र राम्रो प्रतिक्रिया आएको भन्दै उत्साह बढेको बताए ।
सिनेमाका निर्माता प्रविन थापाले बिशेष गरी युवापुस्ताका लागी मन पर्ने सिनेमा निर्माण गरेको जानकारी दिए । उनले सिनेमा निर्माणमा आगामी दिनमा पनि निरन्तरता दिने बताएका छन् ।
कार्यक्रममा अतिथिको रुपमा उपस्थित निर्देशक तथा कलाकार शोभित बस्नेतले आफूले सिनेमा हेर्ने मौका पाइसकेको र निकै राम्रो बनेको भन्दै तारिफ गरे । साथै कलाकार जय किशन बस्नेत र राजनितिज्ञ पुन्य गौतमले पनि सिनेमाको ट्रेलर हेरिसकेपछि खुलेरै प्रशंसा गरे । सिनेमाको ट्रेलर ‘टाकुरा फिल्मस्’को युट्युव मार्फत सार्वजनिक गरिएको छ ।
सिनेमाको निर्माण टिमले यसअघि पोष्टर र गीत सार्वजनिक गरिसकेको छ । चलचित्रमा जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो सिनेमा राहुल राईको छायांकन रहेको छ भने तारा किम्बे थापाको सम्पादन रहेको छ । सिनेमामा भिएफएक्स टंक बहादुर राईको रहेको छ ।












