३ असोज २०७९ :-
काठमाडौं– नेपाली सांगीतिक क्षेत्रका महारथी संगीतकार शुभ बहादुर सुनाम अब यो संसारमा रहेनन् । स्याक्सोफोनवादनमार्फत लोकप्रियता हासिल गरेका संगीतकार सुनामको सोमबार बिहान ४ः३० बजे निधन भएको संगीतकार लक्ष्मण शेषले पुष्टि गरेका छन् ।
उनी ७४ वर्षका थिए । मृगौला सम्बन्धि समस्याका कारण अस्पताल भर्ना भएका सुनामको उपचारकै क्रममा निधन भएको पारिवारिक सदस्यले जनाएका छन् । उनको छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको हो । यतिबेला उनको पार्थिव शरीर छाउनी अस्पतालमै राखिएको संगीतकार शेषको भनाइ छ ।
उनले १० हजार भन्दा बढी गीतमा सेक्सोफोन बजाइसकेका थिए । –‘नेपाली सांगीतिक क्षेत्रमा कुनै बेला यस्तो समय पनि थियो, जति बेला उहाँको अनुपस्थितिमा कुनै पनि गीतको रेकर्डिङ नै पुरा हुँदैन थियो ।’
नेपालमा स्याक्सोफोन बजाउने थोरै संगीतकर्मीहरुमा शुभ बहादुर सुनामको नाम सबैभन्दा माथिल्लो स्थानमा पर्दछ । उनले झन्डै ६ दशकदेखि स्याक्सोफोन बजाउँदै आएका छन् ।
सुनाम नेपालमा मात्र नभएर एशियामा समेत प्रख्यात स्याक्सोफोनबादकको रुपमा प्रख्यात छन् । उनले हजारौं नेपाली गीतका साथै दर्जनौं नेपाली फिल्मका गीतमा स्याक्सोफोनवादन गरेका छन् । फुलको थुंगा बगेर गयो, के छ र दिउँ, रेलि माई रेलि माई, फुलै फुलको मौसम तिमीलाई, को हो त्यो जसले मलाई, मोहनी लगायो जस्ता कालजयी गीतका सर्जक शुभ बहादुर सुनामले चलचित्र मनको बाँध मा पहिलो पटक स्याक्सोफोन बजाएका थिए ।
उनले चलचित्रहरु प्रतिक्षा, के घर के डेरा, चाहना, दाजुभाई, बन्धन आदिका लागि संगीतकारको रुपमा काम गरेका थिए । उनले १४ वर्षको उमेरदेखि नै स्याक्सोफोन बजाउन थालेका थिए । उनी नेपाली सेनाका सहायक रथीको रुपमा समेत सेवा पुर्याएका थिए ।
भारतिय चर्चित गायक गुलाम अलिका थुप्रै गीतमा संगीत दिईसकेका शुभबहादुरले स्याक्सोफोन आफ्नै पिता तथा हजुरबुवाबाट सिकेका थिए । उनले आफ्ना छोरा र नातीलाई पनि स्याक्सोफोन बजाउन सिकाएका थिए । स्याक्सोफोन बजाउन शुभबहादुर विदेशसम्म पुगिसकेका थिए ।