Sur Cinema

सिनेमा ‘मिरमिरे’ को छायांकन सकियो, माघ १ गतेबाट प्रदर्शन हुँदै

काठमाडौं । निर्देशक यम शेर्पाको सिनेमा ‘मिरमिरे’ को छायांकन सकिएको छ । ३५ दिन लगाएर सिनेमाको मुख्य छायांकन पूरा गरिएको हो । यद्यपि, एउटा गीतको छायांकन भने अझै बाँकी रहेको निर्देशक शेर्पाले जानकारी दिए ।

शेर्पाका अनुसार बाँकी रहेको गीतको छायांकन उपयुक्त समय मिलाएर गरिनेछ । सिनेमाको छायांकन काभ्रेका विभिन्न ठाउँ र मकवानपुरको चित्लाङमा गरिएको थियो ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको यो सिनेमा आगामी माघ १ गते प्रदर्शनमा आउनेछ । नायिका सिर्जना निङलेखुको जन्मदिन पारेर केही हप्ताअघि निर्माण पक्षले प्रदर्शन मिति घोषणा गरेको थियो ।

‘मिरमिरे’ मा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन् । उनीहरूसँगै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकारको पनि अभिनय रहेको छ । बाल कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलले काम गरेका छन् ।

सिनेमाको कथा पनि निर्देशक यम शेर्पाले नै लेखेका हुन् भने छायांकन आलोक शुक्लाले गरेका हुन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको यस सिनेमामा गोविन्द बोहरा र सुदिप कुँवर सह-निर्माता छन् । वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेका छन् भने आरआर फिल्मसका सञ्चालक तथा वितरक रोहित कट्टेल कार्यकारी निर्माता हुन् ।

सिनेमाको देशभर वितरणको जिम्मेवारी पनि रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।

सुदिप कुँवरले मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बूले मेकअप र दिलीप पन्तले निर्माण नियन्त्रकको जिम्मेवारी सम्हालेका छन् ।