Sur Cinema

टिजरमा ‘जनै हराएको मान्छे’ : दुष्चक्रमा फसे विजय !

काठमाडौं : सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम र धोका छ । विवाहको दृश्यसँगै सुरु हुने टिजरमा सिनेमाका मुख्य पात्र विजय बरालको कोरिया सपना केन्द्रमा छ । कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौं पुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको वरिपरि टिजर घुमेको छ ।

कोरिया जान्छु भनेर काठमाडौं आएका विजय कसरी काठमाडौं मै अलमलमा पर्दा सपना पनि गन्तव्यहीन भइरहेको छ भन्ने टिजरमा उल्लेख छ । सामान्य जानकारी समेत नलिई तय गरिएको गन्तव्यमा पुग्न कति कठिन छ भन्ने तथ्य टिजरले उजागर गरेको छ । परिवारको दुःख कटाउने सपना बोकेर हिँडेको पात्र कसरी आफैँ घनघोर दुःखको दुष्चक्रमा फसेको छ टिजरमा उल्लेख छ ।

यही मेसोमा बस्ने प्रेम र त्यसको सुख टिजरमा देख्न सकिन्छ । टिजरमा सिनेमाका मुख्य पात्र विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटालगायतलाई देख्न सकिन्छ ।‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’लाई निर्देशक हिमाल न्यौपानेले निर्देशन गरेका छन् ।सिनेमा भदौ ६ गते रिलिज हुनेछ ।

सिनेमाको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । बलियो लाइनअप देखिएको सिनेमामा विजय, केकी, मिरुना, भोलाराज र सुशांकसँग रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । सिनेमामा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको सिनेमामा दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक, तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक छन् । सिनेमाका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

सिनेमामा शाहिल खानको टिजर-ट्रेलर, सुप्रिम पराजुलीको कलर, सुनील क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्सन निर्देशन, निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल रहेका छन् । सिनेमाको वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ ।