Sur Cinema

‘ऊनको स्वीटर’ले दर्शकसँग केक काट्दै गरे सेलिब्रेसन : निर्देशक भन्छन् ‘यो खुसी साट्ने समय हो !’

काठमाडौं : वि.सं. २०८२ सालको पहिलो सुपरहिट सिनेमा बन्न सफल ‘ऊनको स्वीटर’ले चौथो हप्तासम्म आइपुग्दा पनि नेपाली बक्स अफिसमा धमाका मच्चाइरहेको छ । प्रदर्शनको तेस्रो हप्तामा नै १० करोडभन्दा बढी ग्रस कमाइ गरिसकेको यो सिनेमाले न केवल व्यावसायिक रेकर्ड तोडिरहेको छ, बरु दर्शकहरूका मनमा पनि विशेष स्थान बनाएको छ ।

यसै खुसीको अवसरमा निर्माण युनिटले मङ्गलवार साँझ काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा सिनेमा हेरेका दर्शकहरूमाझ केक काटेर सेलिब्रेसन गरेको छ । सो अवसरमा प्रमुख कलाकार विपिन कार्की, एलेक्स पारस, परीक्षा लिम्बु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगर, गायक सुजन चापागाईँ, सङ्गीत निर्देशक कोविद बज्र,  गीतकार हर्क साउद, छायाकार चिन्तन राजभण्डारी र निर्देशक नवीन चौहान लगायतको उपस्थिति थियो ।

केकमा सिनेमाका पोस्टरहरू र चर्चित गीतहरूको झल्को दिने चित्रहरू राखिएको थियो । निर्देशक नवीन चौहानका अनुसार यो केक काट्ने कार्यक्रम कुनै प्रचारात्मक गतिविधि होइन, तर “दर्शकसँग खुसी साट्ने र धन्यवाद व्यक्त गर्ने प्रयास” हो । उनका अनुसार, ‘ऊनको स्वीटर’ ले १० करोड क्लबमा प्रवेश गरेपछि गोलाप्रथामार्फत सिनेमा हल छानिएको थियो, जसमा एफक्युब हल परेकोले त्यहीँ कार्यक्रम आयोजना गरिएको हो ।

सो अवसरमा हल करिब हाउसफुल थियो र दर्शकहरूको उत्साह चुलिएको देखिन्थ्यो । युनिटले चलचित्र सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको थियो । निर्देशक चौहानले भने, “हामीले कसैलाई भौतिक रूपमा तिर्ने कुरा केही छैन, तर दर्शकलाई माया तिर्नुपर्ने हो । यही माया साट्न केक काट्यौँ ।”

यो सिनेमा हाल नेपालभरका १०० भन्दा बढी शो तथा अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वलगायतका देशहरूमा यसको प्रदर्शन भइरहेको छ । सिनेमामा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतका कलाकारको अभिनय छ ।