काठमाडौँ : चलचित्र पत्रकार संघ नेपालले कला क्षेत्रका क्रियाशील दर्जन बढी पत्रकारलाई पुरस्कार र सम्मान प्रदान गरेको छ । चलचित्र पत्रकारिता दिवस तथा २५ औँ रजत वार्षिक उत्सव पारेर उक्त पुरस्कार तथा सम्मान बितरण गरिएको हो । कार्यक्रममा नेपाल समाचार पत्रका समाचार सम्पादक विदुर गिरीले नगद ५५ हजार ५ सय ५५ सहित ‘चलचित्र पत्रकारिता रजत सम्मान २०८१’ प्राप्त गरे । पत्रकार कृष्ण भट्टराई र राज श्रेष्ठ ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८१’बाट सम्मानित भए ।
त्यसैगरी पत्रकार सुरज खड्का र अशेष अधिकारीलाई जनही नगद ५१ हजार रुपियाँसहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१’बाट पुरस्कृत भएको कार्यक्रममा पत्रकार मदन रिजाल र दाङका पत्रकार शिव पुनले जनही २५ हजार रुपियाँ सहित क्रमशः ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८१’ र ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८१’ प्राप्त गरे ।

सोमबार साँझ राजधानीको नक्सालस्थित लिसारा रिसेप्सनमा आयोजित समारोहमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, प्रथम अभिनेत्री भुवन चन्द, हास्य साम्राज्ञी वसुन्धरा भुसाल लगायतले पुरस्कार र सम्मान प्रदान गरेका थिए । संघका अध्यक्ष समीर बलामीले संघको रजत जयन्तीसँगै सिने पत्रकारहरू सच्चिएर जानुपर्नेमा जोड दिए । चलचित्र पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन आगामी दिनमा पनि विभिन्न कार्यक्रम गर्नेछौ’ बलामीले भने । संघका महासचिव रघुनाथ सापकोटाद्वारा सञ्चालित समारोहमा अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले चलचित्र पत्रकारहरुले निस्पक्ष र खोजमूलक पत्रकारिता गर्नुपर्ने औँल्याउँदै कला क्षेत्रको उत्थानमा महत्त्वपूर्ण भूमिका खेलेको बताइन् ।

कार्यक्रममा चलचित्र पत्रकारिता रजत वर्ष पारेर पत्रकार डिबी खड्का, दिपक बिष्ट, रञ्जन खनाल, शिल्पा अधिकारी, जयनसुब्बा मानन्धर, अमृत पुडासैनी, मनिराज गौतम, रवीन्द्र खड्काले ‘चलचित्र पत्रकार रजत वर्ष विशेष सम्मान’ प्राप्त गरे । बिभिन्न सांगीतिक कार्यक्रम सहित सम्पन्न सन्तोष बस्याल र सहिमा श्रेष्ठले गीत र विजेता अधिकारी, रमा न्यौपानेलगायतले नृत्य देखाएका थिए । कार्यक्रममा चलचित्र क्षेत्रका थुप्रै संघसंस्थाको प्रतिनिधि, चलचित्रकर्मी, पत्रकारिता क्षेत्रका संघसंस्थाको प्रतिनिधिहरूको समेत सहभागिता थियो । संघका अध्यक्ष समीर बलामीको सभापतित्व र कार्यक्रम उपाध्यक्ष कुबेर गिरीको संयोजकत्वमा सम्पन्न समारोहमा केक समेत काटेर सेलिब्रेसन गरिएको थियो ।
















