काठमाडौं
असार १६ गते शनिवार चलचित्र विकास बोर्डको २३औं वार्षिकोत्सब थियो । जसका लागि मध्यान्ह ३ बजेको समय तोकेर पाहुना बोलाईएको थियो । तयारी पनि यस्तो थियो कि सिनेकर्मी सङै पत्रकार समेतलाई केही दिन अघि नै फोन गरेर निम्ता दिइएको थियो ।

सिनेकर्मीको संस्था भनिए पनि यो बोर्डले कस्को हितमा काम गर्छ सर्वविदितै छ । यसै पनि बोर्डका अध्यक्ष समेतले काम गर्न नदिएको,नपाएको आरोप लगाउने गरेका छन ।

कार्यक्रममा सन्चार मन्त्री रेखा शर्मा प्रमुख अतिथी बनेर आएकि थिइन । उनको आतिथ्यतालाई त स्विकार्नै पर्छ । तर उनका आसेपासेको पनि बोर्डले उस्तै ख्याल गरेको थियो । ख्याल पनि यति सम्म गरियो कि घण्टौ अघि आएर पर्खिरहेका अग्रज कलाकार प्रती न माफी माग्न जरुरी ठानियो न त उनीहरुलाई धेर थोर इज्जत दिन जरुरी नै । यतिले नपुगेर पिए र सरकारी कर्मचारी समेतलाई दिइएको सम्मान हास्यास्पद थियो ।


पुर्व घोषित समय भन्दा एक घण्टा ढिलो गरि सुरु गरिएको कार्यक्रम अति नै अब्यवस्थित थियो । अग्रज कलाकार मिथिला शर्मा, भुवन चन्द, चैत्य देवी, बसुन्धरा भुसाल, कृष्ण मल्ल, सर्मिला मल्ल, लक्ष्मीनाथ शर्मा, दीपा श्री निरौला लगायत पुर्व निर्धारित समयमा नै आएका थिए । र लामो समय सम्म चुपचाप कुरेर बसे । बल्ल तल्ल कार्यक्रम सुरु भयो । तर कलाकर्मीको संस्थामा मन्त्री र उनका आसेपासेको हालिमुहाली स्पष्टै देखिन्थ्यो ।

नयाँ पुस्ताका कलाकार जो आफुलाई स्टार भनेर चिनाउन चाहन्छन, कार्यक्रममा कसैको पनि उपस्थिती थिएन । आफुलाई ब्यस्त देखाउन चाहने कलाकारहरुले यस्तो कार्यक्रममा आउन जरुरी सोचेनन पनि होला । अब पत्रकार समेतलाई ब्यक्तिगत रुपमा फोन गरेर निम्तो गर्ने बोर्डले कलाकारलाई निम्तो नै नपुर्याएको पक्कै होइन होला ।

कुरा गरौ, आफ्नै हातमा ब्यवस्थापनको जिम्मा भएको बार्षिक उत्सवको । बाहिरबाट हेर्दा जति भब्य लाग्थ्यो भित्र त्यति नै लथालिङ्ग थियो। किनकी भित्र पुगेर हेर्दा कार्यक्रमको वास्तविक अवस्था छर्लङै देखिन्थ्यो।

कार्यक्रम स्थल सम्म पुग्न पुष्प गुच्छा सहितको सजावट थियो । ओ हो , लाग्ने उक्त पहिलो झलकले भित्र अझ सुन्दर होला भन्ने अपेक्षा बढाउथ्यो नै ।

तर त्यस्तो भएन । ठुलै रकम खर्चिएर गरिएको कार्यक्रमको सजावट फिक्का लाग्थ्यो । बाहिरको वाहवाही भित्र आगन्तुक नै नअटाउने हलमा कार्यक्रम आयोजना गरिएको थियो । अब निम्तालु यति छन भन्ने अनुमान त पक्कै बोर्डलाई थियो होला ।

मन्त्री शर्माको भाषणमा केही नयाँपन थिएन । आश्वासन बाढ्ने र काम हुँदै छ भन्ने बाहेक अरु केही सुनिएन । अझ रमाइलो कुरा त आर्थिक मन्दीको कारण सिने जगतका लागि रकम कम भयो रे । यसो भन्दै गर्दा “कस्ले गराएछ त संकट ?” भन्दै खासखुस चलेको थियो । जिम्मेवार ब्यक्ती यस्तो सस्तो बहानाले पन्छिनुलाई गैरजिम्मेवारी बाहेक के नै भन्न सकिएला र ?

यता बोर्ड अध्यक्ष भुवन केसीको लेखेर तयार पारेको भाषणको कुनै अर्थ नै देखिएन । सम्भवत धेरैले, र उनले पनि आफू के भन्दै छु भनेर बुझेकै थिएनन ।रिलिज नै नभएको सिनेमा “काडेतार”ले दस लाख रकम कमायो /पायो । के को आधारमा सरकारी ढुकुटीबाट यो रकम खर्च गरियो यस्को जवाफ सम्भवत: बोर्डसंग पनि छैन ।

नेपालीको प्रचलन नै भनौ, फोहर फाल्न मनाही छ लेखेको ठाउमा फोहरको थुप्रो हुन्छ । कार्यक्रम हलमा स्पष्ट रुपमा हल भित्र खानेकुरा लैजान र खान नमिल्ने बताइएको थियो । तर जब प्रमुख अतिथीलाई नै खाजाको बाकस आईपुग्यो! आसेपासे र अन्यले सोही तरिका पछ्याउने नै भए ।

खाएर आफ्नो फोहर सम्हाल्न नजान्ने हामी, कार्यक्रम स्थल कार्यक्रम सकिदा सम्म कस्तो भयो होला ? यहाँ तस्विर बोलिरहेको छ ।


भद्रगोल बिच लघु सिनेमालाई गरिएको सम्मान केही फरक र राम्रो काम थियो । हाम्रा भन्दा राम्रा तिर पो बोर्ड ढल्किएको हो कि भन्ने झल्को यसले दिन्थ्यो । समग्रमा बोर्डको २३औ बार्षिक क उत्सव नेता खुसी पार्न र बोर्डको रकम सक्न आयोजना गरिएको कार्यक्रम बाहेक केही देखिएको थिएन । आउने दिनमा यस्तो अब्यबस्थित र आचारसंहिता को थोरै ख्याल राख्दै सिने दुनियाँ को भलो का लागि चलचित्र बिकास बोर्ड सचेत रहोस। बार्षिक उत्सव २०८० को शुभकामना ।





























