काठमाडौं:-
लागुऔषध दुर्व्यसनीको कथा समेटेर तयार पारिएको सिनेमा ‘सरी मम’को टाईटल गीत सार्वजनिक भएको छ । प्रमुख अतिथिका रुपमा महानायक राजेश हमाल उपस्थिति हुनु भएको थियो भने बिशेष अतिथिको रुपमा विभिन्न सिनेमाकर्मीहरु उपस्थित हुनुभएको थियो।

उक्त गीतमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पछिल्लो समय दुर्व्यसनीका घटना बढिरहँदा कुलतमा कसरी फसेका हुन्छन त आजकलका युवा भन्ने दर्साउन खोजिएको छ, साथै आमा र छोराबीचको सम्बन्धलाई प्रतिकात्मक रूपमा देखाइएको छ । गीतमा प्रज्वल श्रेष्ठको स्वर रहेको छ भने शब्द संगीत प्रज्वल श्रेष्ठ र नबिन बोगटीको छ।

सिनेमा लाई नविन बोगटीले निर्देशन गरेका हुन् भने उक्त सिनेमा मार्फत चेतनामुलक सन्देश दिने उद्देश्यले ‘सरी मम’ बनाएको सिनेमाका कार्यकारी निर्माता विनोद लामाले बताए । सिनेमालाई देशका सातै प्रदेशमा प्रदर्शन गरिने निर्माण टिमले बताएको छ । सिनेमाको कथा पनि लामाको नै हो । ‘सरी मम’ एक सिनेमा मात्र नभएर कुलत बिरुद्धको सामाजिक अभियान समेत रहेको निर्देशक बोगटी बताउँछन् ।


स्थानिय स्तरमा प्रदेश सरकार, नगरपालिका , गाउँपालिका , नेपाल प्रहरीसँगै शिक्षा क्षेत्रमा कृयाशिल संस्थाहरू प्याब्सन , एन-प्याब्स , हिसान , शिक्षक महासंघ लगायतसँगको सहकार्यमा विभिन्न स्थानमा अभियानको रूपमा समुदायस्तरमा सिनेमाको प्रदर्शनी गरिने निर्माण टिमले बताएको छ । फिल्मको प्रदर्शनीमा नेपाल जेसिजले समेत सहकार्य गरेको छ ।
सिनेमामा सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई, प्रभात पल , प्रविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् ।

सिनेमामा दीर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन् । एनएफआई क्रियशनको तर्फबाट सिनेमा निर्माण भएको हो । सिनेमा मंसिर १५ गतेबाट प्रदर्शनमा आउने भएको छ ।


















