Sur Cinema

युट्युब ट्रेन्डिङदेखि टिकटकसम्म ‘सारथी’को चर्चा

काठमाडौं : प्रदर्शन मिति नजिकिँदै गर्दा सिनेमा ‘सारथी’को चर्चा बढ्दै गएको छ। सिनेमाको ट्रेलर युट्युब ट्रेन्डिङको टप १० मा पर्न सफल भएको छ भने गीत र ट्रेलरका दृश्यमा आधारित टिकटक भिडियोसमेत बन्न थालेका छन्।

शुक्रबार साँझ ५:४५ बजे सार्वजनिक भएको ट्रेलर आइतबार राति ९ बजेसम्म युट्युब ट्रेन्डिङको टप १० मा प्रवेश गरेको थियो। सार्वजनिक भएको करिब ५१ घण्टामै ट्रेलरले हासिल गरेको यो उपलब्धिले निर्माण टिम उत्साहित छ।

कुमार गजुरेलको लेखन तथा निर्देशन रहेको सिनेमामा म्याग्दीको दुर्गम गुर्जा गाउँको प्राकृतिक सौन्दर्य, ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र मानवीय संवेदनालाई प्रस्तुत गरिएको छ। सिनेमामा निरुता सिंह, उत्तम प्रधान, गिरी विश्वकर्मा र गायत्री जोशीलगायत कलाकारको अभिनय छ। करिब दुई दशकपछि निरुता र उत्तमलाई एउटै पर्दामा देख्न पाउनु सिनेमाको अर्को आकर्षण हो।

किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको सहकार्यमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन्। रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको सिनेमामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता तथा बेकबहादुर विश्वकर्मा कार्यकारी निर्माता छन्। संकल्प भुजेलको छायाङ्कन रहेको सिनेमाको लाइन प्रोड्युसर अमिर केसी हुन्।

‘सारथी’ मंसिर ११ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ। सामाजिक सञ्जालमा देखिएको दर्शकीय आकर्षण हलसम्म पुग्ने अपेक्षा निर्माण टिमको छ।