Sur Cinema

‘१२ गाउँ २’मा एक्सनसँगै प्रेमको रंग, गीतले खोल्दैछ सिनेमाको अर्को पाटो

काठमाडौं : अभिनेता विराज भट्टको निर्देशन तथा निर्माणमा तयार भएको सिनेमा ‘१२ गाउँ २’ प्रदर्शनको संघारमा छ। एक्सनप्रधान टिजरबाट चर्चा कमाएको सिनेमाले सार्वजनिक गीतमार्फत यसको प्रेम र भावनात्मक पक्षलाई पनि क्रमशः खुलाउँदै लगेको छ।

सिनेमाको पहिलो गीत ‘जुनेली’मा समीर भट्ट र कृशु शाहीलाई प्रेमिल भावमा प्रस्तुत गरिएको थियो। त्यसपछि सार्वजनिक ‘लालीगुराँस’ले उनीहरूको प्रेमकथालाई थप उजागर गर्‍यो। बुधबार सार्वजनिक ‘रेशमी रुमाल’मा भने विराज भट्ट र वर्षा इटानीको जोडीलाई केन्द्रमा राखिएको छ। गीतहरूले ‘१२ गाउँ २’ केवल एक्सन र बदलाको कथामा सीमित नभई प्रेम, सम्बन्ध र भावनात्मक उतारचढावलाई पनि कथाको महत्वपूर्ण हिस्साका रूपमा प्रस्तुत गर्ने संकेत दिएका छन्।

सिनेमामा विराज, समीर, कृशु र वर्षासँगै अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्टलगायतका कलाकारको अभिनय छ। कृशु शाही र वर्षा इटानीले यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गर्दैछन्। दशैंको अवसरमा असोज ३० गते प्रदर्शनमा आउने सिनेमाको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन्।