काठमाडौं : सौगात मल्लको मुख्य भूमिका रहेको सिनेमा ‘जुबा’को छायांकन सम्पन्न भएको छ । अस्त्र फिल्मसको ब्यानरमा निर्मित सिनेमाको छायांकन ९० दिनमा पूरा भएको निर्माण टिमले जनाएको छ ।
सर्लाही, दाप्चा, काठमाडौं र भक्तपुरसँगै भारतको राजस्थानमा छायांकन गरिएको सिनेमालाई कथावस्तु र दृश्यको आवश्यकताअनुसार निर्धारित समयभन्दा बढी लगाएर खिचिएको हो । अब सिनेमा पोस्ट–प्रोडक्सनमा जाने निर्माण टिमले जनाएको छ ।
सजना थापाको निर्माण तथा शेखर पाण्डेको सहनिर्माण रहेको ‘जुबा’को कथा तथा निर्देशन प्रकाश कर्णको हो भने लेखन वर्षा पौडेलले गरेकी छन् । सिनेमामा सौगातसँगै सोफी धरेल र सुधन पोखरेल मुख्य भूमिकामा छन् । सोफीले यही सिनेमाबाट अभिनयमा डेब्यु गर्दैछिन् भने सुधन पहिलोपटक मुख्य भूमिकामा देखिँदैछन् ।
सिनेमाको कथा करिब दुई दशकअघिको समयसँग जोडिएको संकेत यसअघि सार्वजनिक चरित्र पोस्टरले दिएको थियो । सौगातको फरक लुक्स, पीसीओबाट फोन गरिरहेको दृश्य तथा सिगारसहितको सुधनको प्रस्तुतिले सिनेमाप्रति कौतुहलता बढाएको छ । ‘जुबा’को प्रदर्शन मिति भने तय भइसकेको छैन ।


















