Sur Cinema

‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’को अडिसन सम्पन्न, २५ प्रतिस्पर्धी छनोट हुने

काठमाडौं : राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’को अडिसन काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट्समा सम्पन्न भएको छ । क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (सिआईएफटी)को आयोजनामा भएको अडिसनमा १६ देखि ३२ वर्ष उमेर समूहका युवतीहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।

अडिसनबाट २५ जना प्रतिस्पर्धी छनोट गरिनेछ । उनीहरूलाई अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा प्रशिक्षण दिइनेछ । मिस नेपाल २००० उषा खड्गी, रोजिन शाक्य, कलाकर्मी डटकमकी समाचार सम्पादक अरुणा भट्टराई र सिआईएफटीकी प्रमुख सुचिता सची निर्णायक रहेका थिए । प्रतियोगिताको ग्राण्ड फिनाले आगामी मंसिर ५ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ ।

प्रतियोगितामार्फत ‘मिस ग्ल्याम युनिभर्स नेपाल’, ‘मिस ग्ल्याम वर्ल्ड नेपाल’ र ‘मिस टिन ग्ल्याम वर्ल्ड नेपाल’का लागि नेपाली प्रतिनिधि छनोट गरिने आयोजकले जनाएको छ । ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’की विजेताले भारतमा सन् २०२६ को अन्त्यतिर आयोजना हुने तयारीमा रहेको ‘मिस ग्ल्याम वर्ल्ड २०२६’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।