काठमाडौं : रेखा थापा निर्देशित सिनेमा ‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक भएको छ। शान्तीश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको गीतमा शिवाकोटीको संगीत तथा सुष्मा सिग्देलको शब्द छ।
तीजको मौलिक संस्कृति पछिल्लो समय देखावटी र अरूको देखासिकी गर्ने प्रवृत्तितर्फ उन्मुख हुँदै गएको विषयलाई गीतले व्यंग्यात्मक रूपमा प्रस्तुत गरेको छ। ऋणधन गरेर भए पनि अरूको जस्तै पहिरन र गहना लगाउने चाहनालाई गीतमा रमाइलो शैलीमा उठाइएको छ।
गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा सिनेमाका मुख्य कलाकारसँगै पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहले नृत्य गरेका छन्।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्मित सिनेमामा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाहलगायत कलाकारको अभिनय छ। ध्रुव लम्सालको पटकथा रहेको सिनेमा भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
आठ वर्षपछि रेखा थापा निर्देशनमा फर्किएको यस सिनेमालाई रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्नेछन्।


















