Sur Cinema

‘मालती मंगले’को ट्रेलर : प्रेम, खटपट र सामाजिक यथार्थ चित्रण

काठमाडौं : आगामी वैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘मालती मंगले’को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरको क्युएफएक्स सिनेमाजमा आयोजित कार्यक्रममा कलाकार तथा निर्माण टिमको उपस्थितिमा ट्रेलर रिलिज गरिएको हो।

ट्रेलरले वर्षा राउत (मालती) र विजय बराल (मंगले) बीचको प्रेम कथा, सम्बन्धमा आउने उतारचढाव र पारिवारिक खटपटलाई प्रस्तुत गरेको छ। साथै, समाजमा रहेको छोरा–छोरीबीचको विभेद र ‘इज्जत’ को दबाबजस्ता सामाजिक यथार्थलाई पनि मार्मिक रूपमा देखाइएको छ। मेक्सम गौडेल नकारात्मक भूमिकामा देखिएका छन्।

प्रकु पाण्डेयद्वारा निर्देशित तथा लेखन गरिएको यस सिनेमाको पटकथा संयोग गुरागाईँले तयार पारेका हुन्। सिनेमामा प्रकाश घिमिरे, सरिता गिरी, सकु शाह लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

रानी फिल्म्सको ब्यानरमा निर्माण भएको ‘मालती मंगले’मा प्राविधिक पक्ष पनि सशक्त रहेको बताइएको छ। आरआर फिल्म्सले वितरण गर्ने यो सिनेमाले दर्शकलाई पूर्ण मनोरञ्जन दिने अपेक्षा गरिएको छ।