काठमाडौं : नेपाल र भारतका सिनेकर्मीको सहकार्यमा निर्माण हुन लागेको सिनेमा ‘मोनालिसा ब्लडी लभ’को फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक गरिएको छ। तिहारको अवसर पारेर निर्माण पक्षले ‘वल्र्ड अफ मोनालिसा’ शीर्षकमा सिनेमाको पहिलो झलक सार्वजनिक गरेको हो।
पीजी स्टुडियोको प्रस्तुतिमा प्रशान्त गिरीले निर्माण गर्न लागेको सिनेमाको लेखन तथा निर्देशन किङ योगीले गर्नेछन्। सिने पत्रकार सचित खड्का कार्यकारी निर्माताका रूपमा रहनेछन्।
नेपाल र भारतमा छायाङ्कन गरिने सिनेमाको ३० प्रतिशत दृश्य नेपालमा र बाँकी ७० प्रतिशत भारतमा खिचिनेछ। आगामी असारदेखि छायाङ्कन सुरु गर्ने तयारी रहेको सिनेमाका केही महत्वपूर्ण दृश्य भारतको चर्चित रामोजी फिल्म सिटीमा खिचिने निर्माण पक्षले जनाएको छ।
सिनेमामा दुवै देशका कलाकारको अभिनय रहनेछ। कलाकारको नाम भने सार्वजनिक गरिएको छैन। नेपाली र हिन्दी भाषासहित पाँच भाषामा प्रदर्शन गर्ने लक्ष्य राखिएको सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विभिन्न ओटीटी प्लेटफर्मसँग समेत छलफल भइरहेको जनाइएको छ।
अन्तर्राष्ट्रिय स्तरको प्राविधिक टोली र ठूलो क्यानभासमा निर्माण गर्ने लक्ष्य राखिएको ‘मोनालिसा ब्लडी लभ’लाई नेपाली र भारतीय सिने उद्योगबीचको महत्वाकांक्षी सहकार्यका रूपमा हेरिएको छ।


















