काठमाडौं : पल शाह र मलिका महतको जोडीलाई दर्शकले अत्यधिक रुचाएका छन्। सिनेमा ‘आ बाट आमा २’मा समावेश गीत ‘अचेल किन कान्छी’ले युट्युबमा ६० लाख ५० हजारभन्दा बढी भ्युज बटुलिसकेको छ।
रिलिजको सातौँ दिनमै ट्रेन्डिङ नम्बर वानमा पुगेको गीतको भिडियोमा एक लाखभन्दा बढी लाइक र ६६ सयभन्दा बढी कमेन्ट छन्। कमेन्टमा अधिकांश दर्शकले पल र मलिकाको जोडीलाई ‘राजा–रानी’ भन्दै प्रशंसा गरेका छन्।
निर्देशक चन्द्र पन्तले दर्शकको मागअनुसार नै पल–मलिकाको जोडीलाई फिल्ममा प्रस्तुत गरिएको बताए। गीतमा पल र मलिकासँगै आकाश श्रेष्ठलाई पनि देख्न सकिन्छ, जहाँ सामूहिक विवाहको परिवेशमा आकाश खलनायकको भूमिकामा प्रस्तुत छन्। गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतमा बाबुल गिरीको शब्द तथा संगीत र रवि ओड तथा गंगा सोनामको स्वर छ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको सिनेमामा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठलगायत कलाकारको अभिनय छ। सिनेमा अर्को शुक्रबारबाट प्रदर्शनमा आउँदैछ।


















