काठमाडौं : मल्टिस्टारर सिनेमा ‘पाँच पाण्डव’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले पोस्टरमार्फत अभिनेत्री इभा गिरीलाई द्रौपदीको भूमिकामा सार्वजनिक गरेको हो । रातो सारी र सोल्जर कट ब्लाउजमा देखिएकी इभाको लुक्समा महाभारतकी द्रौपदीको झल्को देखिन्छ । पोस्टरको पृष्ठभूमिमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौलालाई पाँच पाण्डवका रूपमा प्रस्तुत गरिएको छ ।
वसन्त निरौलाको निर्देशनमा बनेको सिनेमा कार्तिक २० गतेदेखि प्रदर्शनमा आउनेछ । सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको सिनेमाले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने निर्माणपक्षले जनाएको छ । सिनेमाको सम्पूर्ण साउन्ड डल्बी एटमसमा तयार गरिएको छ ।


















